काठमाडौँ । जिल्ला प्रहरी कार्यालयले आफ्नै ग्राहकको खाताबाट २७ लाख रकम झ्वाँम पार्ने सेन्चुरी बैङ्कका कर्मचारी केशव राईलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार बैंक शाखा कार्यालय सुनसरी चतराका कर्मचारी राईलाई कीर्ते हस्ताक्षर गरेर ग्राहकको खाताबाट रकम निकालेको अभियोगमा पक्राउ गरिएको हो।
३३ वर्षीय राईले चतराको सहायक पदमा कार्यरत हुँदा पार्वती बिष्टको खातामा रहेको २७ लाख रुपैयाँ कीर्ते हस्ताक्षर गरेर झिकेका थिए।
उच्च अदालत विराटनगरले राईविरुद्ध पक्राउ गर्न पुर्जी जारी गरेलगत्तै उनी फरार भएका थिए। पक्राउ परेका राईलाई अदालतबाट ७ दिन म्याद थप गरि बैंकिङ कसुर मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
डीआइजीको नाममा रकम उठाउने महिला पक्राउ
प्रदेश-२ का डीआइजीको नाममा रकम उठाएको आरोपमा रौतहटमा एक महिला पक्राउ परेकी छिन्। रौतहटको गरुडा नगरपालिकामा विर्तामा रहेको प्रहरी विद्यालयमा स्थायी जागिर लगाइदिने भन्दै २ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उमेश रंजितकारको नाममा पैसा उठाएको आरोपमा सर्लाही हरिवन नगरपालिका–११ की शुसिला थापा दहाललाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी श्रीराम भण्डारीले बताए।
पक्राउ परेकी महिलाले प्रहरी विद्यालय गरुडामा शिक्षक पदमा स्थायी नियुक्ति गराइदिने भन्दै पर्सा मणिपुरका उदास कुमार पाण्डेसँग ६ लाख रुपैंया माग गरेको थिइन्। पाण्डेसँगको फोन संवादमा थापाले डीआइजी रंजितकारको नाममा सो रकम माग गरेको अडियो रेकर्ड बाहिरिएको थियो।
प्रदेश प्रहरी प्रमुखले रकम मागेको भन्दै अडियो बाहिरिएपछि थापालाई बिहीबार प्रहरी विद्यालयमा बोलाइएको थियो। फोन रेकर्डमा सुनिएको आवाज आफ्नै भएको उनले स्वीकारेकी छिन।
इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी भण्डारीले भने ‘घटनाको छानबिनका लागी अहिले उनलाई नियन्त्रणमा राखिएको छ। फोन रेकर्ड गरेर आफूलाई बार्गेनिङ्ग गरेको पक्राउ परेकी महिलाले जनाएकी छिन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
