गण्डकीकै कान्छा वडाध्यक्ष ‘घले’ भन्छन् ‘सबल काशीगाउँ, खूशी गाउँवासी बनाउँछु’

काठमाडौँ । उत्तरी गोरखाको धार्चे गाउँपालिका भौगोलिक र भौतिक हिसाबले पिछडिएको गाउँपालिका हो। संघीयता कार्वान्वयनपछि गाउँपालिकामा सातवटा वडा छन् । यस गाउँपालिको वडा नम्बर ६ काशीगाउँका धनकुमार घले गण्डकी प्रदेशकै कान्छो वडाध्यक्षको रूपमा चिनिन्छन् । घले २३ वर्षको उमेरमै स्थानीय निर्वाचनमा वडाको नेतृत्वमा आउन सफल भएका थिए।

निर्वाचित भएर आएदेखि वडाको विकास निर्माणका काम, सामाजिक रूपान्तरण, काम गर्दाका चुनौती, निर्वाचनको समयमा बोलेका कुराहरूको कार्यान्वयन, सम्भावना, आगामी लक्ष्य र झन्डै साढे चार वर्षको उपलब्धि र अनुभवबारे प्रदेशकै कान्छो वडाध्यक्ष घलेसँग न्युज कारखानाकर्मी अश्विन दानीले गरेको कुराकानीको सम्पादित अंश :

Advertisement

२३ वर्षकै उमेरमा चुनावमा उठ्दै गर्दा जितिन्छ जस्तो लाग्याथ्यो ?

२३ वर्षमै वडाध्यक्ष भएर वडाको नेतृत्वमा गर्न अवसर पाएँ, यो मेरो लागि अत्यन्तै सुखद पक्ष हो । म सानैदेखि गाउँमा भएका समस्याहरूका बारेमा बोल्ने, समाधानका लागि सम्बन्धित निकायसम्म आवाज उठाउने, अरुलाई पनि जागृत गर्ने गर्थेँ । सानै उमेरदेखि राजनीतिमा होमिएँ ।

एमालेले मैले पार्टीका लागि गरेको योगदानको उचित मूल्यांकनसहित विश्वास गर्दै मलाई वडाध्यक्षको टिकट दियो । चुनाव उठेँ, मसँग थुप्रै चुनौती थिए । चुनाव हो हारजित त भइनै हाल्छ । डर भने कत्ति लागेको थिएन। तर, मैले विगतमा आफ्नो गाउँका लागि गरेको काम, मेरो चुनावी घोषणापत्र र मेरो नैतिकतालाई विश्वास गरेर वडावासीले मलाई नेतृत्व समाल्ने अवसर दिनुभयो।

चुनावमा उठ्दै गर्दा तपाईले देख्नुभएको चुनौती के के थियो ?

काशीगाउँ अलि पिछडिएको ठाउँ हो । यहाँ सडक आइपुगेको थिएन, सडकबाटो नहुँदा अत्यावश्यक खाद्यान्नदेखि अन्य कुरा लिन पनि माछीखोला, आरुघाट, गोरखा बजार जानुपर्ने अवस्था थियो । बिरामीलाई उपचारका लागि बाह्रै महिना घन्टौंसम्म स्ट्रेचरमा बोकेर लैजानुपथ्र्यो । खानेपानीको समस्या थियो ।

शिक्षा क्षेत्र कमजोर थियो, विद्यालयमा आवश्यकताअनुसार शिक्षक नहुने भएपछि गुणस्तरीय शिक्षा नहुने हुन्थ्यो । केही अन्धविश्वास, जनचेतनाका अभाव पनि थिए । मसँग थुप्रै चुनौती थिए, वडामा समस्याका चाङ थुप्रै थियो । निर्वाचित भएँ भने ती समस्यालाई समाधान गर्नुपर्ने, समाधानका लागि पहल गर्नुपर्ने दायित्व, कर्तव्य आफ्नै काँधमा आउने पक्का थियो । जितिहाले पनि वडामा कति नै बजेट हुन्छ र ? त्यसलाई समाधान गर्न सकिँन भने ? भन्ने पनि लाग्थ्यो ।

निर्वाचित भइसकेपछि कामको थालनी कसरी गर्नुभयो ?

संघीयता कार्वान्वयनपछिको संस्थापक वडाध्यक्ष नै भनौँ भएँ । निर्वाचित भइयो, तर वडा कार्यालय थिएन । कहाँ बसेर काम गर्ने ? हाम्रो अधिकार के के हुुन् ? के गर्न पाउने ? कति गर्न पाउने ? सबै कुुरा अन्योल थियो । कार्यधिकारका कुरादेखि ऐन, नियम कानुन बुझ्नै केही समय लाग्यो । त्यसपछि क्रमशः सिक्दै घोषणापत्र र जनताका माग, आवश्यकता र चाहनालाई प्राथमिकतामा राख्दै काम सुरु गरेँ ।

जुन घोषणापत्र देखाएर नेतृत्वमा आउन सफल हुनुभयो, त्यसलाई कति पूरा गर्नुभयो ?

चुनावमा मैले गरेको घोषणापत्रको एक नम्बरमा गाउँमा मोटरबाटो ल्याउने, स्वरोजगार सिर्जना गर्ने र वैदेशिक रोजगारीलाई कम गराउने, गुणस्तरीय शिक्षा ल्याउने, खानेपानीको समस्या हटाउने, स्वास्थ्यलाई गुणस्तरीय बनाउँदै आमनागरिकको पहुँच बढाउने, विद्युतको केन्द्रीय प्रसारण लाइन ल्याउने जस्ता कार्यक्रम थिए । मेरो घोषणापत्र हेरेर तपाई फिल्डमा जानुभयो भने ९५ प्रतिशतभन्दा बढी पूरा भएको देख्न सक्नुहुनेछ । म निर्वाचित भएको १८ महिनाभित्रै गाउँमा मोटरबाटो पुग्यो, बाह्रै महिना नचले पनि बर्खामा बाहेक अन्य समयमा यहाँ गाडी आउजाउ गर्छ ।

वडाका २९ जनाको टिम बनाएर नमुना कृषि फर्म स्थापना गरेँ । अनुदानको व्यवस्था पनि गरेँ । अहिले पनि त्यहाँबाट बाख्रा, कुखुरा, अण्डाको उत्पादन राम्रो भइरहेको छ । पहिले बंगुर पनि पालेका थियौँ, अहिले हावापानी नमिलेपछि पाल्न छोडेका हौँ । स्वरोजगारका लागि मैले गाउँमा विभिन्न सीपमूलक तालिम प्रदान गरिसकेँ । सीप सिकेर काम गर्न चाहनेलाई अनुदानको व्यवस्था गर्ने, अनुदानका लागि पहल गरिदिने गरिरहेको छु ।

आर्थिक अवस्था कमजोर भएका, जेष्ठ नागरिक, एकल महिला, अपांगता भएका, दलित समुदाय, गरिबलाई घरघरमा पुगेर खाद्यान्न सहयोग गर्ने, जीविकोपार्जनका उनीहरूको क्षमता र चाहनाअनुसारको काम गर्न आर्थिक सहयोग गर्ने काम गरिरहेको छु । पहिले यस वडामा लघुजलविद्युत थियो, अहिले केन्द्रीय प्रसारणलाइन विस्तार भइरहेको छ । केही महिनाभित्रै यहाँका नागरिकले केन्द्रीय प्रसारणलाइनको बिजुली बाल्न पाउने छन् । वडा कार्यालयको भवन, बहुउद्देश्यीय भवन बनिसक्यो । वडाका पाँच सय ४६ घरधुरीमा ‘एक घर एक खानेपानी धारा’ निर्माण भइसक्यो।

अहिले खानेपानीको कुनै समस्या छैन । र्यासामा पहिला प्रावि थियो अहिले निमावि सञ्चालन गरिसक्यौँ । मन्जुश्री माविमा शिक्षकको संख्या कम थियो, अहिले तीनजना थप गरेका छौँ । विद्यालयको भवन बनाउने काम पनि गरेका छौँ । शिक्षालाई क्रमशः गुणस्तरीय बनाउँदै लगेका छौँ । प्राविधिक शिक्षा पढ्न प्रत्येक वर्ष कक्षा १० (एसईई) मा उत्कृष्ट अंक ल्याउनेलाई ‘लेस विस्तारित एसोसिएसनन फ्रान्स’ को आर्थिक सहयोगमा प्रोत्साहनस्वरूप ३५ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरेका छौँ ।

स्थ्य संस्थामा आवश्यक औषधिको अभाव हुन दिएका छैनौँ । प्रसूतिगृह सञ्चालनमा ल्याइसक्यौँ । क्रमशः क्षमता वृद्धि गर्ने प्लानिङमा छौँ । कृषितर्फ हामीले युवाहरूको समूह बनाएर आलु, अदुवा, बेसार पकेट क्षेत्र स्थापना गरेका छौँ । प्रदेश सरकारको ५० प्रतिशत अनुदानमा पकेट क्षेत्र स्थापना गरेर उत्पादन गरिरहेका छौँ । पकेट क्षेत्रलाई विकास गर्दै विस्तारै सुपर जोन बनाउने गरी काम गरिरहेका छौँ । पर्यटनतर्फ रक क्लाइम्बिङको सम्भावना हेरिरहेका छौँ, गणेश हिमाल जाने पदमार्ग बनाउन गोरेटो बाटो पनि खनिसक्यौँ । टेकिङ ट्रायलको रूपमा स्थापना गर्ने सोच छ, तर त्यो हामीले मात्रै चाहेर स्रोतसाधन पुर्याउन सम्भावना छैन, स्रोत जुटाउने प्रयासमा छु।

तपाई आफूलाई कस्तो खालको जनप्रतिनिधिको रूपमा पाउनुहुन्छ ?

जीवनमा आफ्नो कामको मूल्यांकन आफैले गर्नु भनेको अत्यन्तै कठिन काम हो । तर, सामाजिक क्षेत्रमा काम गरिसकेपछि यो गर्नु अत्यावश्यक पनि छ । तर, मैले म सफल हो, या असफल हो भनेर भन्दिनँ । यो भनिराख्नु जरुरी पनि छैन् । किनभने, मैले मेरो योजना, जनताको आवश्यकता, माग र चाहनालाई केन्द्रबिन्दुमा राखेर काम गरेँ । एउटा जिम्मेवार नागरिकको हिसाबले मेरो काम, कर्तव्य र जिम्मेवारीलाई दत्तचित्त भएर पूरा गर्ने कुरामा कुनै कसुर बाँकी राखेको छु जस्तो लाग्दैन । त्यसैले मेरो मूल्यांकन वडावासीले गरिराख्नुभएको छ ।

आगामी दिनमा योजना कस्ता छन् ?

वडाभित्र गरिबीको रेखामुनि रहेका जनताको जीवनस्तर उकास्न आयआर्जनमूलक कार्यक्रम सञ्चालन गरी गरिबी न्यूनीकरण गर्नु प्रमुख लक्ष्य रहनेछ । त्यस सँगसँगै यहाँका हरेक समस्यालाई समाधान गर्ने, आमनागरिकको आवश्यकता र चाहनालाई परापूर्ति गर्ने अनि ‘सवल काशीगाउँ खुसी काशीगाउँवासी’ बनाउने थुप्रै योजना छन् । त्यसका लागि निरन्तर लागिरहनेछु। (न्युज कारखाना एजेन्सी)

More News last news
Loading...