पोखरा । नेपाली काँग्रेस पोखरा नगर सभापतिमा उम्मेदवारी दिएका गंगाधर पराजुलीले पोखरामा काँग्रेसको गुमेको साख फिर्ता गर्ने बताएका छन् । उनले काँग्रेसले विगतमा गरेको क्रान्ति र आन्दोलनमा योगदान पुर्याएका अग्रजहरुको राजनीतिक अभिलेख तयार गर्न पनि आफूले उम्मेदवारी दिएको बताए।
तल्लो तहका कार्यकर्ताहरुलाई राजनीतिक रुपमा परिचित गर्दै वैचारिक जागरणको अभियान चलाउने आफ्नो उद्देश्य रहेको पराजुलीले शुक्रबार पत्रकारहरुमाझ सुनाए । ‘म कुनै गुटमा छैन, मेरो गुट काँग्रेस हो,’ उनले भने ।
अरु उम्मेदवारहरु यसअघिदेखि जिम्मेवारीमा रहेर गरेका कामको मूल्यांकन कांग्रेसका क्षेत्रीय प्रतिनिधिले गर्ने विश्वास पराजुलीले व्यक्त गरेका छन् । उनीसँग प्रतिस्पर्धामा पोखरा उद्योग वाणिज्य संघका महासचिव सुरेन्द्र बिजुक्छे र कास्की कांग्रेसको सचिव रहिसकेका पोखरा ९ का वडाध्यक्ष रामराज लामिछाने लगायत छन्।
पराजुलीले पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइराला प्रस्तावक र यसअघि कांग्रेस पोखरा नगर सभापतिमा पराजित विमल कार्की समर्थक राखेर शुक्रबार मनोनय दर्ता गराएका हुन् ।
वडा र महानगर लगायत स्थानीय एवं अन्य सरकारमा रहेकाहरुबाट हुने अनियमितता, ढिलासुस्ती, भ्रष्टाचार विकृति विसंगतिहरु विरुद्ध बोल्न र उभिन सक्ने कांग्रेस बनाउने प्रतिबद्धता पनि पराजुलीले व्यक्त गरे। उनले आफू सभापतिमा जिते महानगर समितिको बैठक विभिन्न वडाहरुमा गर्ने पनि बताएका छन्।
नेपाली कांग्रेसको संगठन तल्लो तहसम्म सुदृढ र संगठित गर्दै क्रियाशील बनाउने, भातृसंस्था र शुभेच्छुक संस्थाहरुको महानगर स्तरीय समिति गठन गरी सबैलाई जागरुक र सक्षम बनाउने, क्रियाशील सदस्यहरुका लागि समायानुकुल वैचारिक प्रशिक्षण आयोजना गर्ने, कार्यकर्तालाई संसदीय प्रणाली, बैठक सञ्चालन सम्बन्धी, संगठन सञ्चालन र नेतृत्व विकास तालिम सञ्चालन गर्ने पराजुलीका प्रतिबद्धता छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
