काठमाडौँ । नेपाली कांग्रेसको १४औं महाधिवेसन अन्तर्गत हुन लागेको पालिकास्तरीय निर्वाचन अन्तर्गत पोखरा महानगरपालिकामा शुक्रबार मनोनयन दर्ता भएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार विभिन्न ९ पदमा एक सय ५७ जनाले उम्मेदवारी दिएका छन् । केही पदमा घम्साघम्सी हुने देखिएको छ भने अधिकांश पदमा निर्विरोध निर्वाचित हुने अवस्था छ । खासगरी पदाधिकारीमा उम्मेद्वार बढी छन् ।
सभापतिमा ६ जनाको मनोनयन दर्ता भएको छ । पूराना पत्रकार गंगाधर पराजुली, अर्की पत्रकार ज्योति हमालसहित पोखरा ११ का निर्वाचित वडाध्यक्ष मोहन बास्तोला, ९ नम्बर वडाका अध्यक्ष रामराज लामिछाने, पोखरा उद्योग वाणिज्य संघका महासचिव सुरेन्द्रमान विजुक्छे र अर्का नेता मिलन प्रसाद तिवारीले उम्मेदवारी दर्ता गराएका हुन् ।
दुई उपसभापति पदका लागि हुने प्रतिश्पर्धामा पनि ६ जना उम्मेद्वार छन् । कृष्णप्रसाद अधिकारी, निर्दोशबिक्रम पौडेल, प्रयागराज भण्डारी, भवसागर बराल, शिव केसी र राजेन्द्र बरालको उम्मेद्वारी दर्ता भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । दुई सचिव पदमा तीनजनाको मात्रै उम्मेदवारी छ । पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई बैंकर्स टुवराज बास्तोला र अर्का नेता सुरेन्द्रबाबू तिवारीले उम्मेदवारी दिएका हुन् ।
दुईवटा सहसचिव पदमा सातजना आकांक्षी छन् । नरेन्द्र बास्तोला, पुष्पराज सिग्देल, रवीन कायस्थ, लक्ष्मी बास्तोला, शिवमोहन अधिकारी, संजय आले, संघर्ष कोइरालाले प्रतिस्पर्धा गर्ने छन् । कार्यसमिति पदमा सबै वडाबाट एक महिलासहित तीनजना सदस्य निर्वाचित हुने व्यवस्था छ ।
यसमा अधिकांश निर्विरोध निर्वाचित भएका छन् । केही वडामा भने तोकिएको कोटाभन्दा बढी उम्मेदवारी परेको छ । वडा नम्बर २ बाट महिला सदस्य निर्विरोध भएपनि अन्य दुई सदस्य पदमा चार जनाले मनोनयन दर्ता गराए । वडा नम्बर ५ बाट महिला सदस्यमा प्रतिस्पर्धा हुनेछ । एउटा पदमा दुईजना दावेदार छन् । वडा नम्बर ९ को सदस्य पदमा तीन जनाको उम्मेदवारी छ । अरु कुनैपनि वडामा निर्वाचन हुने छैन ।
कार्यसमितिका लागि खस आर्य तर्फबाट १५ महिलासहित ३० सदस्य चाहिनेमा आठ महिलाले मात्रै उम्मेदवारी दिएका छन् भने १४ जना पुरुषले मनोनयन दर्ता गराए । आदिवासी जनजातितर्फ १२ महिला चाहिनेमा एकजनाको मात्रै उम्मेदवारी परेको छ ।
१३ पुरुषमा ९ जनाको दावी छ । दलितमा पनि कोटा अनुसार मनोनयन दर्ता भएको छैन । चार महिलासहित नौ सदस्य कोटामा दुई महिला र एकजना मात्रै पुरुषले उम्मेदवारी दिएका छन् । मुस्लिमतर्फ पनि निर्विरोध निर्वाचित भएका छन् ।
वडा नम्बर ८ मा एकजना सदस्य पद खाली छ भने वडा नम्बर २० बाट कसैले पनि उम्मेद्वारी दिएका छैनन् । खस आर्यमा महिलातर्फ सात पद र पुरुषतर्फ एक पद खाली छ । आदिवासी जनजातीमा महिलातर्फ ११ पद र पुरुषमा चार पदमा मनोनयन परेको छैन । यस्तै, दलिततर्फ पनि महिला दुई र अन्य चार पद रित्तै छ । मनोनयन नपुगेका पदमा भने कार्यसमितिले पछि मनोनयन गर्ने व्यवस्था छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
