सरकारको प्याकेज : गरीबलाई दशैंमा १० हजार, बिरामीलाई मासिक ५ हजार !

काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको सरकारले अति विपन्न गरीब परिवारलाई प्रति घरपरिवार १० हजार रुपैयाँका दरले राहत दिने घोषणा गरेको छ। देशभरिका ५ लाख घर परिवारलाई यो रकम दशैँकै बेलामा, अर्थात् असोज महिनाभित्रै उपलब्ध गराइने सरकारले घोषणा गरेको छ।

अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार अध्यादेशबाट आएको बजेटलाई परिमार्जन गर्दै संसदमा प्रस्तुत गरेको प्रतिस्थापन विधेयकमा कोरोना महामारीबाट आयआर्जन गुमाएका अति विपन्न परिवारलाई असोजभित्रै १० हजार रुपैयाँका दरले राहत बाँड्ने घोषणा गरेको हो।

संसदमा प्रतिपक्षी एमालेको चर्को विरोधको सामना गर्दै अर्थमन्त्री शर्माले १९ पृष्ठ लामो ७७ बुँदे प्रतिस्थापन विधेयक बाचन गरेका थिए।

संसदमा मन्त्री शर्माले भने, ‘कोभिड १९ को प्रभावबाट रोजगारी र आय आर्जन गुमाएका अनौपचारिक एवं असंगठित क्षेत्रमा रहेका अति विपन्न गरीब ५ लाख परिवारलाई राहतस्वरुप एक पटकका लागि प्रतिघर परिवार रु १० हजारका दरले निश्चित मापदण्डका आधारमा नगद अनुदान प्रदान गर्ने प्रवन्ध गरेको छु।’

यो अनुदान असोजभित्रै प्रदान गरिने आश्वासन दिँदै उनले भने, ‘यस्तो अनुदान रकम स्थानीय तहको समन्वयमा सम्मत २०७८ असोज महिनाभित्र हस्तान्तरण गर्ने गरी आवश्यक तयारी गरेको छु।’

त्यसैगरी अर्थमन्त्री शर्माले मिर्गौला, क्यान्सर र मेरुदण्डका बिरामीहरुलाई सरकारले मासिक ५ हजार रुपैयाँ उपचार खर्च दिने घोषणा गरेका छन्।

More News last news
Loading...