काठमाडौँ । नेपाल टेलिकमले देशैभर फोर जी सेवा विस्तारको काम अन्तिम चरणमा पुगेको जनाएको छ।
७७ जिल्लाका ६ सय ८२ पालिकामा फोर जी विस्तारको काम सकिएको र बाँकी रहेका ७१ पालिकामा पनि काम भइरहेको टेलिकमले जनाएको छ।
चार हजार एक सय ८६ वटा संरचना निर्माण गर्नुपर्नेमा तीन हजार पाँच सय ४४ वटा संरचनाबाट फोर जी अनएअर भइसकेको टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए।
यस्तै टेलिकमले गएको जेठदेखि सुरु भएको फोरजी भीओएलटीई सेवाको परीक्षण पनि तीव्र गतिमा भइरहेको जनाएको छ।
इन्टरनेट विना नै भिडिओ कल गर्ने सुविधाका साथै आवाजको गुणस्तर सुधार्न टेलिकमले भीओएलटीई प्रविधि ल्याएको हो।
यसैबीच टेलिकमले फाइभ जी परीक्षणका लागि पनि तयारी तीव्र पारिएको जनाएको छ। टेलिकमका प्रवक्ता राजेश जोशीले फोर जी विस्तारको काम छिटै सकिने र फाइभ जी परीक्षण हुने जानकारी दिए।
फाइभ जी परीक्षणका लागि उपकरण आयातको क्रममा रहेको र अनुमतिका लागि नेपाल दूरसञ्चार प्राधिकरणसँग आग्रह गरिएको जोशीले बताए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
