लमजुङकी यी गाउँपालिका अध्यक्षलाई वडामै सकस, हार्ने संकेत देखेपछि निर्वाचनमा जान अस्वीकार

काठमाडौँ । नेपाली काँग्रेस लमजुङको वडा अधिवेशन धमाधम सकिएपनि दुधपोखरी गाउँपालिका–५ कोल्कीको वडा अधिबेशन अझै सम्पन्न हुन सकेको छैन ।

वडाको सभापति र महिला बाहेकका खुल्ला पदहरुमा सहमति जुटेपनि अन्य पदमा सहमति नजुटेपछि क्रियाशील सदस्यहरुले मतदानको आग्रह गरेपनि दुधपोखरी गाउँपालिका अध्यक्ष छुपीमाया गुरुङले निर्वाचनमा जान अस्वीकार गर्दा वडा अधिबेशन सम्पन्न हुन नसकेको हो।

Advertisement

दुधपोखरी गाउँपालिकाका सबै वडाहरुमा सर्बसम्मत रुपमा नेतृत्व चयन भएपनि गाउँपालिका अध्यक्षको आफ्नै वडामा भने काँग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्वाचीत हुन गाउँपालिका अध्यक्षलाई सकस परिरहेको छ।

दुधपोखरी गाउँपालिका–५ को सभापतिमा अध्यक्ष गुरुङ निकट युक्तबीर तामाङ र पुराना नेता गजबहादुर गुरुङबीच प्रतिष्पर्धा भएपनि सहमतिबाटै गजबहादुर गुरुङ चयन भएका छन् र १५ जना क्षेत्रीय प्रतिनिधि मध्य हालसम्म खुल्ला तर्फबाट ६ जना निर्वाचित भइसकेका छन् । बाँकी पदमा भने न सहमति हुन्छ न मतदान ।

सहमती नभएपछि मतदान मार्फत प्रतिनिधि चयन हुने ब्यवस्था भएपनि चुनावमा जानका लागि अध्यक्ष गुरुङले आनाकानी गर्दै आईरहेको नेबिसंघ लमजुङका नेता मंगल गुरुङले नयाँ पुस्तालाई बताए ।

स्थानीय सरकारको प्रमुख भईसकेपछि आफ्नै वडावासीको सेवामा ध्यान नदिएको, गाउँपालिकाको सेवा प्रबाह र विकास निर्माणका गतिबिधिमा मनमौजी तरिकाले काम गर्दै आएपछि अध्यक्ष गुरुङसँग स्थानीय जनता तथा नेता कार्यकर्ता रुष्ट छन्।

अध्यक्ष गुरुङको ब्यबहारका कारण रुष्ट बनेका नेपाली काँग्रेसको दुधपोखरी–५ कोल्कीका वडाअध्यक्ष सुरज गुरुङ, नेबिसंघ लमजुङका नेता मंगल गुरुङ, स्थानीय नेताहरु भक्तबहादुर तामाङ, तेजेन्द्र गुरुङ, बिष्णु गुरुङ, तरुण दल अध्यक्ष बिनोद गुरुङ लगायत अधिकांश क्रियाशील सदस्यहरु मतदान मार्फतनै प्रतिनिधि छनौट गर्ने अडानमा छन्।

More News last news
Loading...