पोखरा । पोखरास्थित मणिपाल शिक्षण अस्पताल बिक्री भएको छ। पोखराकै दुई व्यवसायिक समूह बतास अर्गनाइजेसनका अध्यक्ष आनन्दराज बतास र अटोवेज ग्रुपका अध्यक्ष नारायण पौडेलले सवा तीन अर्ब रूपैयाँमा उक्त अस्पताल किनेका हुन्।
अटोवेज ग्रुपका अध्यक्ष पौडेलका अनुसार बतासले ६० प्रतिशत र पौडेलले ४० प्रतिशत लगानीमा अस्पताल खरिद गरेका हुन्। मणिपाल समूहसँग भोलि शुक्रबार अस्पताल खरिद बिक्री सम्झौता हुने पौडेलले बताए।
नेपाल सरकार र भारतको मणिपाल एजुकेसन एण्ड मेडिकल ग्रुपबीच १८ अक्टोबर १९९२ मा उक्त अस्पताल स्थापना गर्ने सम्झौता भएको थियो।
सम्झौता भएको दुई वर्षपछि मेडिकल कलेजका रूपमा एमबिबिएस सुरू गरेको थियो। अहिले यस अस्पतालमा एमबिबिएस, पिजी र नर्सिङका कक्षा संचालनमा छ।
यस अस्पतालले एमबिबिएस अध्ययनका लागि वार्षिक १०० जना भर्ना गर्न अनुमति पाएको छ। अस्पताल सञ्चालन गर्न मणिपाल समूहलाई सरकारले ४९ वर्षका लागि जग्गा भाडामा दिएको थियो।
नेपालमै पहिलो पटक निजी क्षेत्रको लगानीमा स्थापना भएको मणिपाल मेडिकल कलेज अहिले पनि गण्डकी प्रदेशकै ठूलो सुविधा सम्पन्न निजी अस्पताल हो। यस अस्पतालमा ७५० बेड सञ्चालनमा छन्।
१० हेक्टर क्षेत्रफलमा फैलिएको अस्पताल भवन १० लाख स्क्वायर फिट रहेको छ। मुख्य अस्पताल भवन रहेको जग्गा मणिपाल समूहकै नाममा रहेको छ भने बाँकी भवन तथा संरचना सरकारी जग्गामा रहेको छ। अस्पतालको हालसम्म ऋण नभए पनि सरकारलाई झण्डै १ अर्ब कर तिर्न बाँकी रहेको अटोवेज ग्रुपका पौडेलले बताए।
भोलि सम्झौता भएपश्चात एक डेढ महिनाभित्र स्वामित्व हस्तान्तरण भइसक्ने पौडेलले बताए। मेडिकल कलेज सञ्चालन गर्न लगानीकर्ता बतास अध्यक्ष र पौडेल उपाध्यक्ष रहने सहमति भएको छ।
अस्पतालमा अहिले ९ सय जना कर्मचारी छन्। पश्चिमका मानिस मेडिकल साइन्स पढ्न काठमाडौँ वा अन्यत्र जान नपरोस् भनेर मेडिकल कलेजमा लगानी गरेको पौडेलले बताए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
