स्याङ्जा । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २४ वर्षपछि आज (बुधबार) पक्राउ परेका छन्। स्याङ्जा जिल्ला साविक चण्डीकालिका–५ हाल पुतलीबजार नगरपालिका–१४ बस्ने ७५ वर्षीय यमप्रसाद पौडेललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए।
फरार प्रतिवादी पौडेललाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाले गोप्य सूचनाका आधारमा आज पोखरामा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो। पौडेललाई स्याङ्जा जिल्ला अदालतले २०५४ कात्तिक ४ गते कर्तव्य ज्यान मुद्दामा १९ वर्ष छ महिना १२ दिन कैद सजाय तोकेको थियो।
पक्राउ परेका पौडेललाई आजै जिल्ला अदालत स्याङ्जामा पेश गरी कैद भुक्तानका लागि जिल्ला कारागार स्याङ्जा पठाइएको प्रहरी प्रवक्ता अधिकारीले जानकारी दिए।
जिल्लामा करिब एक हजारको हाराहारीमा फरार प्रतिवादी रहेकामध्ये हालसम्म ५०० भन्दा बढी पक्राउ परिसकेका प्रवक्ता अधिकारीले बताए।
उनका अनुसार फरार प्रतिवादीमध्ये केही देशभित्रै नरहेका र धेरैको मृत्युसमेत भइसकेकाले अब करिब १५० को हाराहारीमा प्रतिवादी फरार रहेका छन् । फरार रहेकाको खोजीकार्य तीव्र पारेसँगै पक्राउपर्ने क्रम बढ्दै गएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
