पोखरामा पुनः जोरबिजोर लागु, गण्डकीका कुन जिल्लामा कति संक्रमित थपिए ?

पोखरा । कोरोना संक्रमण बढ्दै गएपछि कास्कीमा निजी तथा सार्वजनिक सवारी साधनमा बिहीबारदेखि पुनः जोरबिजोर प्रणाली लागू गरिएको छ। बुधबार बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले भदौ १० गतेसम्मका लागि निषेधाज्ञामा कडाइ गर्ने निर्णय गरेको हो।

यसअघि असार १४ गते सार्वजनिक सवारीमा जोरबिजोर प्रणाली हटाइएको थियो। जिल्ला प्रशासन कार्यालय कास्की प्रमुख थानेश्वर गौतमले होटल तथा रेस्टुरेन्टमा हुने हरेक किसिमका बुकिङ कार्यक्रमलाई पनि रोक लगाइएको जानकारी दिए।

Advertisement

गण्डकीका कुन जिल्लामा कति संक्रमित थपिए ?

पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा गरिएको १ हजार ३३४ जनाको नमुना परीक्षणमा गण्डकी प्रदेशमा थप ४५६ जनामा कोरोना पोजेटिभ देखिएको छ।

पछिल्लो २४ घण्टामा कास्कीमा १४४ सहित म्याग्दीका २३ जना, पर्वतका १६ जना, गोरखाका ३६ जना, लमजुङका १ जना, तनहुँका २६ जना, बाग्लुङका ११८ जना, स्याङ्जाका ४० जना र नवलपुरका ५२ जना गरी प्रदेशका ९ जिल्लामा २३३ पुरुष तथा २२३ जना महिलामा कोरोना पुष्टि भएको हो।

कास्कीमा ७५ जना पुरुष तथा ६९ जना महिला गरी १४४ जनामा कोरोना भाइरस पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ। योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ७७ हजार ३४३ पुगेको छ।

पछिल्लो २४ घण्टामा ५७३ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ७० हजार २३३ पुगेको छ। गण्डकीमा थप १० जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या १ हजार २१६ पुगेको छ।

More News last news
Loading...