स्याङ्जा । नेपाल विद्यार्थी संघ, स्याङ्जाले सबै बिद्यार्थीहरुलाई परिचयपत्रको आधारमा कोरोना विरुद्धको खोप उपलब्ध गराउन नेपाल सरकार समक्ष आग्रह गरेको छ।
मंगलबार संघका स्याङ्जा जिल्ला अध्यक्ष अजित क्षेत्री अधिकारीले जिल्ला प्रशासन कार्यालय स्याङ्जाका सहायक प्रमुख जिल्ला अधिकारी दिपक प्रसाद शर्मा मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएका हुन्।
जारी बिज्ञप्तिमा भनिएको छ,‘ मुलुकमा प्रतिगमनलाई संवैधानिक रुपमा परास्त गरी गठन भएको नयाँ सरकारसंग नेपाली जनताको आशा, विश्वास र भरोसा छ । सरकारले छोटो समयमा नै कोरोना नियन्त्रणको निम्ति खोप खरिद सम्झौतालाई प्राथमिकतामा राखेको विषयप्रति हामी आभार व्यक्त गर्दछौं । तर सरकारको खोप वितरण प्राथमिकतामा विद्यार्थीहरु नपरेको प्रति नेपाल विद्यार्थी संघ स्याङ्जाको गम्भीर ध्यानाकर्षण भएको छ ।’
कोरोनाको कारण देशको शैक्षिक क्षेत्र अस्तव्यस्त बनेको, भौतिक रुपमा कक्षा संचालन हुन नसकी भर्चुअल माध्यमले भएको कक्षा संचालन प्रभावकारी नभएको र परीक्षाहरु समेत समयमा नहुँदा शैक्षिक क्यालेन्डर र सिकाईको स्तर खस्किएको कुराका बारेमा समेत संघले प्रधानमन्त्रीलाई जानकारी समेत गराएको छ ।
‘यस्ताखालका शैक्षिक समस्याको समाधानका निम्ति विद्यार्थीहरुलाई परिचयपत्रको आधारमा विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड (गुणस्तर र उमेरसमूह) अनुसार कोरोना विरुद्धको खोप निःशुल्क उपलब्ध गराईदिनुहुन नेपाल विद्यार्थी संघ स्याङ्जा यसै ज्ञापन–पत्र मार्फत हार्दिक अनुरोध गर्दछ’, पत्रमा उल्लेख छ ।
ज्ञापन पत्र बुझ्दै सहायक प्रजिअ शर्माले संघका मागहरु जायज र विद्यार्थीहरुको हकहितका लागि भएको भन्दै उक्त पत्र तत्काल प्रधानमन्त्री कार्यालयमा पठाउने प्रतिबद्वता जनाए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
