काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले शुक्रबार एकैदिन ६ वटा नयाँ शाखा विस्तार गरेको छ। बैंकले प्रदेश नम्बर १ मा एउटा, वागमती प्रदेशमा ३ वटा, लुम्बिनी प्रदेशमा एउटा र सुदूरपश्चिम प्रदेशमा एउटा गरी जम्मा ६ वटा नयाँ शाखाहरु विस्तार गरेको हो।
प्रदेश नम्बर १ मा सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका वडा नम्बर १६ स्थित लविपुरमा बैंकले नयाँ शाखा खोलेको छ।
वागमती प्रदेशमा नुवाकोट जिल्लाको विदुर नगरपालिका वडा नम्बर २ बट्टारमा, चितवन जिल्लाको भरतपुर महानगरपालिका वडा नम्बर ७ विकास चोकमा र सोही महानगरपालिकाको वडा नम्बर १० भरतपुर हाइटमा पनि बैंकले नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ।
त्यसै गरी लुम्बिनी प्रदेशमा बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ कारकाँदोमा र सुदूरपश्चिम प्रदेशमा कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर १ एलएन चोकमा पनि नयाँ शाखा विस्तार गरेको बैंकले जनाएको छ।
यी शाखाहरुबाट बैंकिङ कारोबारको प्रारम्भ शुक्रबारबाटै भएको बैंकका प्रमुख सूचना अधिकारी तुलसीराम पोखरेलले जानकारी दिए।
यो सँगै अब मेगा बैंकको शाखा संख्या १ सय ८४ पुगेको छ। निकट भविष्यमै थप १० वटा नयाँ शाखाहरु सञ्चालनमा आउने तयारी भइरहेको बैंकले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
