एनआरएन युकेको चुनाव ३१ जुलाईमा, नतिजा ३ अगष्टमा आउने

लण्डन (जीएनएन) । गैरआवासीय नेपाली संघ (एनआरएनए) बेलायतको नयाँ कार्य समिति चयन गर्न शनिबार ( जुलाई ३१) मा चुनाव हुनेभएको छ । निर्वाचन समितिले निर्वाचनको कार्यक्रम सार्वजनिक नगर्दा चुनाव सर्ने हो कि भन्ने आशंकाका बीच निर्वाचन समितिका प्रमुख निर्वाचन आयुक्त महेन्द्रराज कँडेलले बुधबार एक पत्रकार सम्मेलन गरी तोकिएको मिति मै चुनाव हुने जानकारी दिए ।

कँडेलले यस पटक अनलाइन माध्यमबाट चुनाव गराइने र यसका लागि ‘च्वाइस भोटिङ’ नामक बेलायती कम्पनीसित मंगलबार सम्झौता भइसकेको जनाए। मतदान कसरी सम्पन्न हुन्छ भन्ने बारेमा निर्वाचन समितिले निर्वाचन सम्बन्धी सूचना तुरुन्तै प्रकाशन गर्ने जानकारी पनि उनले दिए । निर्वाचन कसरी सम्पन्न हुन्छ भन्ने बारेमा मतदाताहरुलाई सचेत बनाउन सहयोग गर्न उनले उम्मेदवारहरु र मिडियालाई अनुरोध गरे।

Advertisement

शनिबार (३१ जुलाईमा) चुनाव भए पनि चुनावको प्रारम्भिक नतिजा सोमबार र अन्तिम नतिजा मंगलबार (३ अगष्टमा) मात्रै प्रकाशित हुने ब्रिटिश कम्पनीले जानकारी दिएको उनले बताए। निर्वाचन गराउने कम्पनीलाई करिब १३ देखि १४ हजार पाउण्ड तिर्नु पर्ने र एउटा डिभाइस वा एउटा आइपी ठेगानाबाट पाँच जनाले मत दिन पाउने उनले जनाए।

तर एनआरएनएका केन्द्रिय सल्लाहकार तथा युके निर्वाचन समितिका पर्यवेक्षक विश्व आदर्श पण्डितले नेपाली हरु एउटै घरमा ८-१० जना सम्म बस्ने भएकाले एउटा डिभाइस वा आइपी ठेगानाबाट कम्तीमा दस जनाले मत दिन पाउने व्यवस्था गर्न सुझाव दिए।

एनआरएनएका केन्द्रिय सल्लाहकार कुल आचार्यले स्वतन्त्र र निस्पक्ष चुनाव गराउन हर सम्भव प्रयास गर्न सुझाव दिए। उनले अनलाइन चुनाव गरि सके पछि त्यसको परिणाम तत्काल घोषणा गर्न भेन्डरलाई भन्नु पर्ने बताए।

‘अनियमितता भएको पाइए चुनाव नै रद्द हुन सक्ने’ एनआरएनएका महासचिव डा. हेम राज शर्माले मतदातालाई पठाएको इमेल फर्कने समस्या देखिएको बताउंदै ‘टेस्ट मेल’ पठाउन भेंडरलाई भन्न सुझाव दिए। त्यस्तै उनले बेलायतमा अनलाइन चुनावको अनुगमन गर्ने निकाय निकै बलियो भएकाले कुनै अनियमितता भएको पाइएमा पुरै चुनाव नै रद्द हुन सक्ने तर्फ सचेत गराए।

एनआरएनए केन्द्रले शुरु गरेको एमआइएस प्रणालीमा दर्ता भएका सदस्यले आफ्नो विवरण आफै बदल्न सक्ने भएकाले चुनाव गराउने कम्पनी (भेन्डर) लाइ पठाइएको मतदाता सूचीको प्रमाणीकरण गर्न जरुरी रहेको बताए। “आइसीसीले डेटा फेरबदल गर्छ भन्ने कलङ्क हामी बोक्न चाहंदैनौ,” उनले भने।

केन्द्रको एमआइएस प्रणालीमा कुन कम्प्युटर आइपीबाट कसले डेटा बदलेको हो, त्यो पत्ता लगाउन सकिने र आवश्यक परे त्यस्तो विवरण सार्वजनिक गर्ने चेतावनी पनि महासचिव शर्माले दिए।

एनआरएनए युकेमा हाल ११ हजार ३६३ मतदाता रहेका छन्। उनीहरुले स्कटल्याण्ड र इङल्याण्ड राज्य समितिहरु र बेलायत राष्ट्रिय समितिका लागि मतदान गर्नेछन्। पत्रकार सम्मेलनको संचालन निर्वाचन समितिका सदस्यसचिव कर्णबहादुर शाहीले गरेका थिए।

More News last news
Loading...