स्याङ्जाको वालिङ नगरपालिकाले कृषकलाई गर्यो भैँसी वितरण

पोखरा । स्याङ्जाको वालिङ नगरपालिकाले कृषकलाई भैँसी वितरण गरेको छ । नगरभित्रका वडा नं ९, १३ र १४ का ३३ कृषकलाई व्यावसायिक दूध उत्पादन प्रवर्द्धन गर्नका लागि नगरपालिकाले लागत साझेदारीमा भैँसी प्रवद्र्धन कार्यक्रमअन्तर्गत ६२ भैँसी वितरण गरेको हो।

उक्त कार्यक्रमका लागि पशु सेवा शाखाको आर्थिक वर्ष २०७७र०७८ को वार्षिक स्वीकृत कार्यक्रम लागत साझेदारीअन्तर्गत रु २६ लाख ४५ हजार र कृषकको ५० प्रतिशत लागत साझेदारीमा करिब रु ५३ लाख लागेको हो।

Advertisement

भैँसीपालनका लागि सम्भावित ठाउँ तथा कृषकको मागका आधारमा तीन वडा छनोट गरी माउ भैँसी वितरण गरिएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताए। परम्परागतरुपमा भैँसीपालन गर्दै आएका कृषकलाई आधुनिक तरिकाले उन्नत जातका भैँसीपालनतर्फ आकर्षित गरी वालिङलाई दूधमा आत्मनिर्भर बनाउने उद्देश्यले भैँसी प्रवद्र्धन कार्यक्रम राखिएको उनले बताए।

“परम्परागतरुपमा भैँसीपालन गर्दा फाइदा नहुने भएकाले व्यावसायिकतामा जोड दिँदै कृषकको आर्थिकस्तर सुधार्न यो कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको छु”, उनले भने, “पशुपालनमा व्यावसायिकता हुँदै गर्दा दूधमा आत्मनिर्भर हुने र कृषकमा थप व्यावसायिकतातर्फ ऊर्जा तथा उत्प्रेरणा थपिनेछ।”

नगरपालिकाले माग गरेको आवेदनका आधारमा कृषकले ५० प्रतिशत लागत साझेदारीमा उन्नत मुर्रा क्रस जातका भैँसी खरिद गरेको पशु शाखाका प्रमुख डा. वसन्तकुमार अधिकारीले बताए। हाल तीन वडामा सञ्चालन भएको भैँसी प्रवद्र्धन कार्यक्रमअन्तर्गत केही कृषकले दुई र केही कृषकले एउटाका दरले भैँसी खरिद गरेका डा अधिकारीले जानकारी दिए।

परम्परागत तरिकाले निर्वाहमुखीभन्दा पनि कृषकलाई व्यावसायिकतामा जोड दिन नगरपालिकाले नीति तथा कार्यक्रममा नै कृषिलाई प्राथमिकतामा राखेकाले सोहीअनुसार कार्य अगाडि बढाएको हो।

“कृषकको मागका आधारमा अनुदान, लागत साझेदारीमा विभिन्न सहयोग उपलब्ध गराउँदै आएका छौँ”, डा. अधिकारीले भने, “यसका अलावा समयानुसार तालिम, प्राविधिक सहयोग, घाँस तथा अत्याधुनिक औजार तथा उपकरण सहयोग गरिएको छ।”

More News last news
Loading...