काठमाडौँ । जाँदा जाँदै ओली सरकारले लामो दुरीका सार्वजनिक गाडीको भाडा दर बढाएको छ।
यातातात व्यवस्था विभागले आज बुधवार सार्वजनिक गरेको सूचनाअनुसार लामो दुरीमा चल्ने गाडीमा २८ प्रतिशत भाडा बढाइएको छ।
भाडा बढाउनका लागि केपी शर्मा ओली नेतृत्वको सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गएको आइतवार अर्थात् असार २७ गते नै विभागलाई सहमति दिएको थियो । विभागले हिजो मङ्गलवार २९ गतेदेखि नै नयाँ भाडा दर लागू भएको जनाएको छ ।
नयाँ भाडा दर अनुसार सार्वजनिक बसको भाडा २८ प्रतिशतले बढेको छ । यस्तै पहाडमा चल्ने मालवाहक गाडीको भाडा २० प्रतिशत र तराईमा चल्ने मालवाहक गाडीको भाडा २६ प्रतिशतले बढेको छ ।
बढेको भाडादर दुई वा दुईभन्दा धेरै प्रदेश भएर चल्ने लामो दुरीका गाडीमा लागू हुनेछ । प्रदेशभित्र चल्ने गाडीको भाडा प्रदेश सरकारले नै तोक्ने अधिकार पाएको छ ।
भाडा बढाउँदा इन्धनको मूल्य वृद्धिलाई ३५ र अन्य सूचकलाई ६५ प्रतिशत आधार मान्ने गरिएको छ । २०७५ सालको असोजमा बढाएयता भाडा समायोजन नगरिएको र योबीचमा इन्धन तथा अन्य पाटपुर्जाको समेत मूल्य धेरै नै बढेकाले यस पटक गाडी भाडा पनि बढाइएको विभागका सूचना अधिकारी डाक्टर लोकनाथ भुसालले जानकारी दिनुभएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
