काठमाडौँ । लिवियाबाट इटली जाँदै गरेको एक डुंगा ट्युनिशिया नजिक भूमध्य सागरमा डुब्दा ४३ जना प्रवासीहरुको ज्यान गएको छ।
ट्युनिशियाको रेड क्रिसेन्टले ४३ प्रवासीहरुको ज्यान गएको र ८४ जनालाई उद्धार गरेको पुष्टि गरेको बीबीसीले जनाएको छ। सो डुंगामा इजिप्ट, सुडान र बंगलादेशका नागरिक चढेका थिए।
लिबियाको उत्तर पश्चिमी तट जुवाराबाट छुटेको सो डुंगा इन्जिनमा खराबीका कारण भूमध्य सागरमा डुबेको अधिकारीहरुले बताएका छन्।
भूमध्य सागर युरोप र अफ्रिकाको बीचमा अवस्थित छ। अफ्रिका र मध्यपूर्वका धेरै नागरिकहरु गरिबी र युद्धका कारण त्यहाँबाट भागेर भूमध्य सागर पार गर्दै युरोपेली देश पुग्ने गरेका छन्।
विगत केही वर्षयता यो बाटो प्रयोग गर्ने क्रम घटेको थियो। तर सन् २०२१ को सुरुवातदेखि फेरि यो बाटोमा चहल पहल बढेको छ।
इटलीको गृह मन्त्रालयका अनुसार गत वर्षको जुलाई महिनासम्ममा ६ हजार सात सय जना भूमध्य सागर पार गर्दै इटली आएका थिए। तर सन् २०२१ मा यो संख्या १९ हजार ८ सय पुगिसकेको छ।
सन् २०१६ को जुन महिनामा भूमध्य सागरमा एक डुंगा डुब्दा ११७ जनाको मृत्यु भएको थियो भने ३४० जनाको उद्धार गरिएको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
