पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली पोखरेलले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ३० अर्ब ३ करोड ९४ लाखको बजेट सार्वजनिक गर्नुभएको छ। प्रदेशको अर्थमन्त्रीको समेत रहनुभएका पोखरेलले आज प्रदेशसभामा प्रस्तुत गर्नुभएको बजेटमा चालूतर्फ १३ अर्व ६ करोड ४७ लाख, पुँजीगततर्फ १६ अर्व ७३ करोड ४६ लाख र वित्तिय व्यवस्थापनतर्फ २४ करोड बजेट विनियोजन गरिएको छ।
बजेटमा प्रदेश सरकारले स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकतामा राखेर बजेट ल्याएको छ । संघीय सरकारसँगको सहकार्यमा सबै जिल्ला अस्पताललाई २५ देखि ५० शैया र धौलागिरी अस्पताललाई २ सय शैयाको जनरल अस्पतालमा स्तरोन्नति गरिने पोखरेलले बताउनु भएको छ।
प्रदेश सरकारको स्रोतबाट सबै जिल्ला अस्पतालमा २ देखि ५ शैयाको सघन उपचार कक्ष निर्माण कार्य सम्पन्न गराउन आवश्यक बजेट विनियोजन गरी ५० शैया भएका अस्पतालमा आँखा उपचार सेवा, मृगौला पीडित विरामीका लागि डायलाइसिस सेवा र ज्येष्ठ नागरिक उपचार वार्ड सञ्चालन गर्ने कार्यक्रमलाई निरन्तरता दिइने उहाँले बताउनु भएको छ ।
प्रदेश सरकारले मातहतका अस्पतालहरूबाट ६५ वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई नि:शुल्क स्वास्थ्य उपचार सुविधा दिने भएको छ।
प्रदेशमा कोरोनाबाट मृत्यु भएकाको परिवारलाई प्रदेश सरकारले ५० हजार रुपैयाँ राहत उपलब्ध गराउने र कोरोनाबाट अभिभावक गुमाएका असहाय बालबालिकाका लागि मासिक ५ हजारका दरले उपलब्ध गराइने जनाइएको छ। सरकारले बहुक्षेत्रीय पोषण कार्यक्रमलाई निरन्तरता दिदै यसका लागि १ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।
आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये नेपाल सरकारबाट वित्तिय समानीकरण अनुदान ७ अर्व ४२ करोड पाएको छ। त्यसैगरी सशर्त अनुदान ४ अर्ब १८ करोड ४३ लाख, समपूरक अनुदान ८७ करोड ३६ लाख, विशेष अनुदान ५४ करोड ९० लाख रहने अनुमान बजेटमा गरिएको छ।
राजस्व बाँडफाँटबाट ७ अर्ब ६२ करोड ७० लाख, रोयल्टी वापत ३० करोड प्राप्त हुने अनुमान गरिएको छ। आन्तरिक राजस्वबाट ४ अर्ब ९८ करोड २७ लाख २७ हजार व्यहोर्दा ४ अर्ब १० करोड न्यून हुनेछ।
उक्त न्यून बजेट पूर्ति गर्न चालु आर्थिक वर्षको असार मसान्तसम्म खर्च भई बाँकी रहेको अनुमानित नगद मौज्दात २ अर्ब १० करोड पनि उपयोग गरिने जनाइएको छ। नगद मौज्दात उपयोग गर्दा पनि अपुग हुने खुद २ अर्ब मध्ये आन्तरिक ऋणबाट १ अर्ब र नेपाल सरकारसँगको ऋणबाट १ अर्ब व्यहोरिने बजेट उल्लेख छ।
यस्तो छ बजेटको पूर्ण पाठ
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
