नेपालमा खाने तेलको मूल्य ह्वात्तै बढ्यो

काठमाडौँ । नेपालमा पछिल्लो एक वर्षमा घ्यू तथा तेलको मूल्य २८ प्रतिशत भन्दा धेरैले बढेको छ। नेपाल राष्ट्र बैंकले पछिल्लो एक वर्षको आर्थिक तथा वित्तीय अवस्थाबारे अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै घ्यू तथा तेलको मूल्यवृद्धि २८.२० प्रतिशत रहेको जानकारी दिएको छ।

२०७७ वैशाखको तुलनामा २०७८ वैशाखमा घ्यु तथा तेलको मात्र नभई अन्य वस्तुहरुको पनि मूल्यवृद्धि उच्च रहेको छ।

Advertisement

यस अवधिमा मासु तथा माछाको मूल्य वृद्धि १७.१२ प्रतिशत रहेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख गरिएको छ। त्यस्तै गैर-मदिराजन्य पेय पदार्थको मूल्य ९.८५ प्रतिशत र सुर्तीजन्य पदार्थ उपसमूहको मूल्यवृद्धि ९.८४ प्रतिशत रहेको छ।

समग्रमा उपभोक्ता मुद्रास्फीति भने घटेको प्रतिवेदनमा उल्लेख छ। उक्त प्रतिवेदनका अनुसार अनुसार २०७८ वैशाखमा वार्षिक बिन्दुगत उपभोक्ता मूल्यवृद्धि ३.६५ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मूल्यवृद्धि ५.८३ प्रतिशत रहेको थियो।

वैशाखसम्म खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ४.७२ प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको मूल्यवृद्धि २.८१ प्रतिशत रहेको राष्ट्र बैंकले बताएको छ।

राष्ट्र बैंकका अनुसार यस अवधिमा काठमाडौँ उपत्यकामा ३.६२ प्रतिशत, तराईमा ३.५१ प्रतिशत, पहाडमा ४.१४ प्रतिशत र हिमालमा १.३३ प्रतिशत मुद्रास्फीति रहेको छ। २०७७ वैशाखमा यी क्षेत्रहरुमा क्रमशः ५.७१ प्रतिशत, ६.३५ प्रतिशत, ५.११ प्रतिशत र ५.१९ प्रतिशत मूल्यवृद्धि रहेको थियो।

घ्यू, तेल तथा माछामासुको मूल्य वृद्धि यतिधेरै देखिदा उता श्रमिकहरुको आम्दानी वृद्धिदर भने खुम्चिएको छ। राष्ट्र बैंकका अनुसार तलब तथा ज्यालादर सूचकाङ्क वृद्धिदर निकै घटेको छ।

पछिल्लो एक वर्षमा तलब तथा ज्यालादर १.८९ प्रतिशतले मात्रै बढेको छ। जबकी अघिल्लो वर्षको सोही अवधिमा तलब तथा ज्यालादर सूचकाङ्क ७.४९ प्रतिशतले बढेको थियो।

More News last news
Loading...