स्याङ्जा । देशभर महामारीको रुपमा फैलिएको कोरोना कहरमा संघ र प्रदेशबाट खासै उल्लेखनीय कार्य हुन नसकेको चर्चा चलिरहँदा केहि स्थानीय तहका जनप्रतिनिधिहरुले भने स्थानीयको मन जित्ने गरी खटेर सेवा गरिरहेका छन्।
यस्तै मध्येका एक हुन्, स्याङ्जा जिल्ला अन्तर्गत भीरकोट नगरपालिका वडा नं ५ का वडाअध्यक्ष यामप्रसाद अधिकारी (लक्ष्मण)। यतिबेला आफ्नो वडामा मात्र नभएर अधिकारीले गरेका कार्यको सर्वत्र जिल्लाभरी नै प्रसंशा भईरहेको छ।
हुन त स्थानीय जनप्रतिनिधिको काम नै स्थानीयको घाउँमा मलम लगाउने हो, तरपनि देशभर रहेका केहि स्थानीय तहहरुमा भन्दा अन्यत्रका स्थानीय तहमा महामारीका बेलामा खासै उदाहरणीय काम नभएको समयमा यस वडाका वडाअध्यक्षको कामको शैलीलाई स्थानीयहरुले समेत प्रशंसा गरेका छन्।
कोरोनाको दोश्रो लहर शुरु भएसँगै निरन्तर स्थानीयहरुको सेवामा खटिरहेका अधिकारी स्थानीयलाई समस्या परेको फोन आउँदा बित्तिकै टुप्लुकै पुगिहाल्छन् र पीडितको घाउँमा मलम लगाउने गर्दछन्।

उनले कोरोनाको यो महामारीमा गाउँ गाउँमा रहेका दीर्घ रोगीहरुलाई दिनहुँ सेवन गर्नुपर्ने औषधी पुर्याउने, सँक्रमितको घरमै पुगेर स्वास्थ्य साम्रागी वितरण गर्ने, स्वास्थ्यकर्मीहरुको सहयोगमा सामान्य स्वास्थ्य परिक्षण गराउने, संक्रमितहरुको मनोवल बढाउने र विभिन्न प्रहरी कार्यालयमा समेत स्वास्थ्य साम्रागी वितरण गर्नु उनको दैनिकी जस्तै बनेको छ।
यसका साथै उनले संक्रमित बिरामीहरुका लागि एम्बुलेन्सको अभाव हुँदा आफ्नै नीजि गाडीमा आफैले निःशुल्क अस्पताल समेत पुर्याउने गरेका छन्। त्यतिमात्र नभई कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको दाहसंस्कारमा आफू नै खट्ने गरेका छन्।
उनी भन्छन्, ‘देश नै समस्या छ, स्थानीयहरुलाई यस्तो बेलामा सहयोग गर्ने कोहि छैनन्, हामी जनप्रतिनिधिले सकेको गर्नुपर्छ भनेर वडावासी मात्र नभई समग्र नगरबासीको सेवामा खटिरहेको छु। ’ यो बेलामा जनप्रतिनिधिहरुले हौसला मात्र दिन सकेपनि स्थानीयहरुमा ठूलो राहत पुग्ने उनको भनाइ छ।
उनी थप्छन्, ‘हामीले जनताकाकै लागि हो राजनीति गर्ने, पहिला जनता बचाऔं अनि राजनीति गर्दै गरौंला ।’ साथै उनले वडाभित्र मात्र नभई समग्र नगरबासीहरुलाई कुनै अप्ठ्यारो परेमा आफूलाई सम्झन अपिल समेत गरेका छन्।
(तपाईहरुलाई पनि यो महामारीको समयमा कुनै समस्या परेमा त्यस आसपासमा बसोबास गर्नेहरुले भीरकोट नगरपालिका वडा नं ५ का अध्यक्ष यामप्रसाद अधिकारी (लक्ष्मण) लाई (सम्पर्क नः ९८५६०३०९८८) सम्पर्क गर्न सक्नुहुनेछ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
