कास्कीको निषेधाज्ञामा थप कडाइ, सार्वजनिक सवारी पूर्ण रुपमा बन्द !

पोखरा । कास्कीमा कोरोना संक्रमण बढेसँगै जारी निषेधाज्ञामा कडाइ गरिएको छ।

आज (आइतबार) बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले गत १५ वैशाखदेखि लगाइएको निषेधाज्ञा कडाइ गरेर वैशाख मसान्तसम्म लम्ब्याउने निर्णय गरेको छ। नयाँ आदेश मंगलबारबाट लागु हुनेछ।

Advertisement

यसअघि सार्वजनिक र निजी सवारी जोरबिजोर चलाउन पाइने निर्णय भए पनि अब अत्यावश्यक बाहेक सबै सवारी सञ्चालन बन्द हुने भएको छ।

खाद्यान्न, डेरी पसल, बिहान ५ बजेदेखि ९ बजेसम्म खोल्न पाइने निर्णय भएको कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए। औषधी पसल भने २४ घन्टा खोले पनि रोकतोक हुने छैन। यसअघि रेस्टुरेन्टमा टेक अवे सेवा सञ्चालन गरिएकोमा त्यो पनि बन्द हुनेछ।

फनपार्क, रंगशाला, दोहोरी साँझ, फुटसल, सैलुन, डिस्को, अत्यावश्यकबाहेकका पसल पनि खोल्न पाइने छैन।

स्वास्थ्य, सुरक्षा, सञ्चार, विद्युत, खानेपानी, औषधीजन्य उत्पादन तथा बिक्री वितरण लगायत अत्यावश्यक सेवाबाहेक अरु सरकारी तथा गैरसरकारी कार्यालय बन्द रहने छन्।

More News last news
Loading...