काठमाडौँ । उच्च मूल्य वृद्धिको रेकर्ड बनाएको ब्रोइलर कुखुराको मासुको भाउ घट्न थालेको छ । यो साता मात्रै दुई पटक गरेर किलोमा ३० रुपैयाँले कुखुराको तयारी मासुको भाउ घटेको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ ।
वैशाख १२ गते किलोमा १० रुपैयाँले घटेर तीन सय रुपैयाँमा झरेको जिउँदो कुखुराको कोल्ड स्टोर मूल्य मंगलबार पुनः १० रुपैयाँले घटेको संघका सचिव देवकुमार गिरीले बताए। मंगलबारको नयाँ मूल्य अनुसार ब्रोइलर कुखुरा जिउँदोको कोल्ड स्टोर मूल्य २९० रुपैयाँ तोकिएको छ ।
जिउँदो कुखुराको मासुको भाउ घटेसँगै बुधबारदेखि काठमाडौँ उपत्यकामा ब्रोइलर कुखराको तयारी मासुको मूल्य चार सय रुपैयाँमा झरेको संघका अध्यक्ष जंगबहादुर बीसीले बताए ।
‘वैशाख १२ को मूल्य गिरावट पछि मासुको मूल्य प्रतिकिलो ४१५ रुपैयाँमा झरेको थियो । अब चार सय रुपैयाँ कायम भएको छ,’ अध्यक्ष बीसीले भने ।
बढ्दै गएको कोभिड महामारीका कारण मासुको खपतमा उच्च गिरावट आएको र त्यसैको असर बजारमा परेको उनले बताए ।
होस्टलहरु बन्द हुनु, राति अबेरसम्म रेष्टुरेन्ट तथा होटल सञ्चालन हुन नपाउनु जस्ता कारणले बजारमा प्रभावित भएको बीसीले बताए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
