काठमाडौँ । नेपाल एलपि ग्यास उद्योग संघले खाना पकाउने ग्यास सिलिन्डर खालि छ भने भरेर राख्न उपभोक्तालाई अनुरोध गरेको छ।
कोरोना संक्रमण बढ्दै गएकोले आपूर्ति प्रभावित हुन सक्ने भन्दै संघले खालि ग्यासका सिलिन्डर तत्काल भरेर भण्डारण गर्न अनुरोध गरेको हो।
गत सालको लकडाउनमा पनि सबै उपभोक्तालाई ग्यासको अभाव हुन नदिएको स्मरण गर्दै संघले अहिले पनि ग्यासको अभाव हुन नदिन संघ लागिपरेको जनाएको छ। नेपाल आयल निगमले कोरोना महामारीमा सहजै सिलिन्डर उपलब्ध गराउन संघलाई पत्र काटेको छ।
भारतमा कोरोना संक्रमण बढ्दै गएपछि नेपालमा पनि त्यसको असर देखिएको छ। नेपालमा पनि पछिल्लो समय कोरोना संक्रमण दर बढ्दै गइरहेका बेला सरकारले सर्वसाधारणलाई सर्तक रहन अपिल गरेको छ।
नेपालमा पछिल्लो समय कोरोना संक्रमण दर बढ्दै गएको छ। शुक्रबार मात्रै नेपालमा २५ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
कूल ९ हजार ६६४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २४४९ तथा एन्टिजेन विधिबाट ११० जनामा संक्रमण पुष्टि भएको हो। योसँगै नेपालमा कूल संक्रमितको संख्या २ लाख ९४ हजार ६०१ पुगेको छ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
