काठमाडौँ । सिङगिङ रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’को कोचमा प्रवेश गरेपछि गायिका तृष्णा गुरुङको चर्चा झन् चुलिएको छ। सिजन–३ का लागि गुरुङ कोचको रुपमा ‘द भ्वाइस अफ नेपाल’ प्रवेश गरेकी हुन् ।
खनी हो यामु हे कान्छ बोलको गीत हिट भएपछि सर्वाधिक चर्चा बटुलेकी गायिका तृष्णा द भ्वाइस अफ नेपालको कोचमा नियुक्त भएपछि उनले थप फ्यान फलोअर्स कमाइन्। शो को सेटमा गरिने उनको कृयाकलाप र राम्रा प्रतिभालाई आफ्नो तर्फ ल्याउन गरिने कोचसँगको वार्तालाभको पनि धेरै फ्यान भएका छन्।
पर्दामा देखिएकी तृष्णालाई धेरैले चिनेपनि उनको वास्तविक जीवन र लाइफस्टाइलका बारेमा धेरैलाई थाहा नहुन सक्छ। आज हामी तपाईलाई तिनै गायिका तृष्णा गुरुङको लाइफस्टाइलका बारेमा जानकारी दिदैछौँ ।
यसरी शुरु भयो गायिका तृष्णा गुरुङको सांगीतिक यात्रा
तृष्णाले भिडियोमा आफ्नै तालमा गिटार बजाएर गुनगुनाउँदै गर्दा गायक ‘वसन्त श्रेष्ठ नजिकै आए । आफूलाई मन पर्ने गायक देख्दा सुरुमा नर्भस भइन् । उनले भनेछन्, ‘हामी सँगै गाउनुपर्छ है ?’ तृष्णाले सहमत हुँदै मुन्टो हल्लाइन् । दुई महिनापछि बसनले स्टुडियोमा बोलाए । र, जन्मियो
सोचेको कुरा होइन यो
जानेको कुरा होइन यो
रोजेको कुरा होइन यो
तिम्रो–मेरो माया बस्यो कसरी
दैव जानोस्
स्लो–रक शैलीको यस गीत युवा पुस्तामाझ लोकप्रिय भयो । पहिलो गीत हिट भएकाले तृष्णाको सांगीतिक यात्राले गति पाउनुपर्ने हो तर त्यसो भएन । बरु गुमनाम भइन् । गीत सुन्नेले पनि उनका बारे थाहै पाएनन् । सम्झिन्छन्, “टिन एजमै थिएँ, गायनमा कसरी अगाडि बढ्नुपर्छ, हेक्कै भएन । पढाइमै व्यस्त भएँ ।” हुन पनि त्यतिबेला उनलाई कहीँ–कतै देखिएन ।
भनिन्छ, समय लाग्छ तर सिर्जनशीलता कहिल्यै मर्दैन । तृष्णाको हकमा त्यही भयो । ६ वर्षको मौनतापछि तृष्णाले पहिलो सोलो गीत युट्युबमा अपलोड गरिन्, ‘खनि हो यामु ए कान्छा ।
नौलो स्वर र शब्दको यस गीतले एक्कासि धेरै श्रोताको ध्यान खिच्यो । तृष्णाकै शब्दमा, छिट्टै र नसोचेको लोकप्रियता हासिल भयो । यही गीतबाट छनक मिल्यो, नेपाली संगीतकी उदीयमान नक्षत्र हुन्, तृष्णा । त्यसैले पछिल्ला वर्षमा उनले आफूलाई पूरापूर प्रमाणित गरेकी छन् । नेपालभित्र र डायस्पोरामा मात्र होइन, बेलायतको प्रतिष्ठित रोयल अल्बर्ट हलमा पर्फम गरिसकेकी छन् । वजनदार शब्द, मिठास स्वर र फरक कम्पोजिसन उनका गीतको चिनारी हो ।
बाल्यकालमा तृष्णाको संगीतप्रतिको मोह
तृष्णालाई सम्झना भएसम्म अरुले ‘भविष्यमा के बन्छौ ?’ भनेर सोध्दा ‘सिंगर’ बाहेक अर्को उत्तर दिएकी छैनन् । जबकि उनका साथीहरु डाक्टर, पाइलट र लाहुरे भन्थे । उनीचाहिँ जहिल्यै गीत गाएको सपना देख्थिन् । भन्छिन्, “आमाले भन्नुभएको, एक–दुई वर्ष हुँदै केही सामान पायो भने बजाएर धुन निकाल्थेँ रे । अनि, बोली फुटेसँगै गाउन थालेँ ।”
उनको परिवार मात्र होइन, अन्य नातेदारमा समेत कोही व्यावसायिक गायक–गायिका छैनन् । तर तृष्णा गीत भन्नासाथ हुरुक्कै । ३ कक्षा पुग्दा गिटारको कर्ड सिकिसकेकी थिइन्, आफ्नै दाइसँग । उनका बुबा मेकानिकल इन्जिनियर थिए । घरमा हुँदा कहिलेकाहीँ बाँसुरी बजाउँथे । दाजु गिटार बजाउँथे । त्यही धुन सुन्दै हुर्किन् तृष्णा, जसले संगीतप्रतिको सान्निध्य अझ घनीभूत बनाउन भूमिका खेल्यो । तृष्णालाई परिचित गराउने ‘खनि हो…’ को कथा पनि उनै दाजुसँग जोडिएको छ ।
दाजु गिटार बजाउँदै ‘खनि हो कान्छी’ गाउँदै सुनाउँथे, यसको धुन मनमै गढेको थियो, तृष्णाको । तर बाँकी शब्द थिएनन्, दाजु तिनै शब्द दोहोर्याउँथे । गुरुङ भाषामा ‘खनि हो’ को अर्थ हुन्छ, ‘कता जान लागेको ?’ ठूलो भएपछि दाजु लाहुर लागे । तृष्णाचाहिँ गिटारमा झनै झुम्मिन थालिन् । तर त्यो गीतको रन्को उनमा अझै थियो ।
त्यही अपूरो गीतलाई पूरा गर्ने रहर पलायो । पानी परेको एक साँझ सरर लेखिन् । कम्पोज गरिन् । दाजुलाई सुनाउँदा भावुक भए । उनकै सल्लाहमा गीत रेकर्ड गरियो र सार्वजनिक भयो । तृष्णा भन्छिन्, “मेरा हरेक गीतको आफ्नै कथा हुन्छ । जसको शब्द–शब्दमा डुबेर गाउने प्रयास गर्छु ।”
पूरा जानकारीका लागि भिडियो हेर्नुहोस्
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
