काठमाडौँ । उद्योगपति विनोद चौधरीको नाम नसुन्ने र नजान्ने सायदै कमै होलान्। उनी फोर्ब्सले सार्वजनिक गरेको विश्वका धनाढ्याहरुको सूचीमा पर्दै आएका छन्। यो पटक पनि नेपालबाट विनोद चौधरीमात्रै फोब्र्सको धनाढ्य सूचीमा पर्न सफल भएका छन्।
चौधरी सन् २०१३ देखि फोर्ब्सले सार्वजनिक गर्दै आएको विश्वका धनाढ्यहरुको सूचीमा पर्दै आएका छन्। यो वर्षको सूचीमा चौधरी २१४१ औँ स्थानमा छन्। अघिल्लो वर्ष उनी यो सूचीको १५१३ स्थानमा थिए। सन् २०१९ मा चौधरीको सम्पत्ति १.७ अर्ब अमेरिकी डलर पुगेको थियो। हाल लगातार दुई वर्षसम्म चौधरीको सम्पत्ति १.४ अर्ब डलर रहेको छ।
कोभिडका कारण चौधरीको सम्पत्ति बढ्न नसकेको बताइएको छ। भूकम्प तथा नाकाबन्धिले सन् २०१६ मा उनको सम्पत्ति १.१ अर्ब डलर थियो। सन् २०१३ मा पहिलो फोर्ब्सको धनाढ्यहरुको सूचीमा प्रवेश गर्दा उनको सम्पत्ति जम्मा १ अर्ब डलरमात्रै थियो।
चौधरी सिजी कर्प ग्लोबलका सञ्चालक हुन् भने नेपालमा उनको नबिल बैंक र सिजी फुडमा धेरै लगानी छ। यो वर्ष विश्वका धनाढ्यहरुको सूचीको पहिलो स्थानमा अमेजनका जेफ बेजोस छन्। उनको कुल सम्पत्ति १७७ अर्ब डलर रहेको छ।
विदेशमा कहाँ कहाँ छ विनोद चौधरीको लगानी ?
कानुनले नेपालीलाई विदेशमा लगानी गर्न रोक लगाएको छ, तर उद्योगपति विनोद चौधरी ‘मल्टिनेशनल’ लगानीकर्ता हुन् । उनले केही वर्षअघि सार्वजनिक गरेको पुस्तक ‘विनोद चौधरी आत्मकथा’बाट भारत, श्रीलंका, माल्दिभ्स, मलेसिया, सिंगापुर र मध्यपूर्वका देशमा आफ्नो लगानी भएको दाबी गरेका थिए।
टाटा इन्टरप्राइजेजको ताज गु्रपसँग श्रीलंका, मालदिभ्स र मलेसियाका विभिन्न सहरमा ‘लक्जरी होटल र रिसोर्ट’हरु सँग चौधरी ग्रुपको लगानी छ। उनले लेखेका छन्, पहिलोचोटि बम्बई घुम्न जाँदा ताज होटल परिसरमा महँगा–महँगा गाडीहरूको शाही क्याराभान देखेर म चकित परेको थिएँ । होटलअगाडि सडकपेटीमा थुचुक्क बसेर त्यहाँको एकएक गतिविधि बढो अचम्मका साथ नियालेको थिएँ । म भित्र छिर्न चाहन्थेँ । छिर्न पाइनँ ।
ताजसँग मिलेर सञ्चालन भैरहेको ताज एशिया लिमिटेड (ताल)मा चौधरी समूहको ५० प्रतिशत सेयर हिस्सेदारी छ । तालले श्रीलंका, माल्दिभ्स, मलेसिया लगायतका देशमा पाँचतारे होटल र रिसोर्ट सञ्चालन गर्दछ । तालले श्रीलंकामा ताज होटलको चेन सञ्चालन गर्दछ, त्यसको प्यारेन्ट कम्पनी ताज लंका होटलस पिएलसीमा तालको ५८.१४ प्रतिशत सेयर छ । यो कम्पनीमा विनोद र छोरा निर्वाण चौधरी सञ्चालक छन् । ताज लंकाले ताज समुद्र होटल सञ्चालन गर्दछ भने एयरपोर्ट गार्डेन होटलको व्यवस्थापन पनि सम्हाल्छ ।
तालले माल्दिभ्समा ताज माल्दिभ्स प्रा.लीका नामबाट ताज एक्जोटिक रिसोर्ट एण्ड स्पा सञ्चालन गरिरहेको छ । सन् २००३ मा ताज माल्दिभ्समा विश्व बैंक समूहको आईएफसीले साढे दुई करोड डलर लगानी गरेको थियो । यो कम्पनीमा अहिले राहुल चौधरी सञ्चालक छन् ।
टाटा समूहकै इण्डियन होटलस् कम्पनी, कन्जर्भेसन कर्पोरेशन अफ्रिका र चौधरीको सिंगापुरमा भएको कम्पनी सिजेन कर्पोरेशन मिलेर वाइल्ड लाइफ पर्यटनमा काम गरिरहेका छन् । यी तीन समूहले तीस करोड भारुका दरले भारतका मुख्य वन्यजन्तु संरक्षण भैरहेका तीन क्षेत्रमा १५ भन्दा बढी लज सञ्चालन गरिरहेका छन् ।
यो कम्पनीले गुजरातको ससानगिरीमा द गिरी लज, केरलाको दकिक्डीमा ताज गार्डेन रिट्रिट, राजस्थानको रान्थामबोर नेशनल पार्कमा सवाई मधोपुर लज, राजस्थान जयपुरमा रामग्रह लज सञ्चालन गरिरहेको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
