पोखरा । पर्यटकीय राजधानी पोखरामा अर्को नयाँ बन्जी थपिएको छ । बन्जी नेपाल एड्भेन्चर्स प्रालिले पोखरा १७, रातोपैरा (माउन्टेन म्युजियमको आडैमा) बनाएको बन्जीको सफल परीक्षण गरिएको छ।
लेक साइडबाट करिब तिन किलोमिटर दुरीमा रहेको बन्जी नयाँ वर्षसँगै व्यावसायिक सञ्चालनमा आएको छ। सन्तोष भट्टराई अध्यक्ष रहेको कम्पनीमा राजु कुँवर, अशोक गुरुङ, दुर्गादत्त खरेल, दिल गुरुङ, दामोदर बराल, भूपाल बहादुर बराल क्षेत्रीको ८ करोड २५ लाख लगानी रहेको छ ।
अध्यक्ष भट्टराईले न्युजिल्यान्ड, जापान, मकाउ लगायत देशमा बन्जी मास्टरको रूपमा लामो समय काम गरी स्वदेश फर्केर हाल आफ्नै साथीहरूको समूह बनाइ बन्जीमा लगानी गरेका हुन।
क्यान्टिलिभर ब्रिजको डिजाइनमा बनाइएको ३५ मिटर अग्लो टावरको फेदबाट बन्जी जम्पका लागि ५५ मिटर लामो प्लेटफर्म निर्माण गरिएको छ। सेती नदीको खोंचमा बनेको र फराकिलो हिमशृङ्खला हेर्दै जम्प गर्न पाइने भएकाले बन्जीमा आकर्षण बढ्ने भट्टराईको दाबी छ।
बन्जीको २ वटा प्लेटफर्म नदी देखि १०१ र १०५ मिटरमा छन्। दुई फरक उचाइमा जम्प गर्ने नेपालको पहिलो जम्प साइट भएको भट्टराईको दाबी छ।
साधारण बन्जी १०१ मिटर अग्लो प्लेटफर्मबाट गराइने र साइकल जम्प, बकेट जम्प लगायत विशेष जम्प १०५ मिटर अग्लो प्लेटफर्म बाट गराइने अध्यक्ष भट्टराईले बताए।
आइएसो स्टाण्डर्डमा निर्माण गरिएको भट्टराईको दाबी छ। अन्तर्राष्ट्रिय स्तरमा बन्जीको लोकप्रिय नाम ‘गो बन्जी सँगको फ्रेन्चाइज भएकोले गो बन्जीकै प्राविधिक सहयोगमा आइ एस ओ स्ट्यान्डर्ड अनुसार तयार गरिएको भट्टराई बताउँछन्। एड्भेन्चर भएकोले सुरक्षा सावधानीमा जोड दिँदै पेट्जल र मामुट कम्पनीका हार्नेस लगायतका उपकरण प्रयोग गरिएको भट्टराईले बताए।
परीक्षणको पहिलो जम्प गो बन्जी (बन्जी जापान) का संस्थापक बीउ रिटालिकले गरेका छन्। रिटालिकसँगै बन्जीको सञ्चालनको लागि जापानबाट बन्जी जापानकै जनरल म्यानेजर डेबिड पनि पोखरा आइपुगेका छन्।
बन्जीकै लागि बनाइएको ३५ मिटर अग्लो टावरमा नेपालमै पहिलो र एसियाकै अग्लो टावर क्लाइम्बिङ सुरु गरिएको भट्टराईले बताए। बन्जी परिसरमै रेस्टुरेन्ट समेत निर्माण भएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
