काठमाडौँ । एक महिलाले काठमाडौँ कलंकीको फुटपाथमा तरकारी किन्न जाँदा नक्कली नोट लिएर गएपछि नोट छाप्ने पूरै धन्दाको पर्दाफाश भएको छ।
प्रहरीले काठमाडौँ महानगरपालिका–१३ बाफल बस्ने मकवानपुरगढी गाउँपालिका–१ घर भएकी ३९ वर्षीया माया तामाङ र कीर्तिपुर नगरपालिका–३ बस्ने रौतहट गुजरा नगरपालिका–२ घर भएका ३५ वर्षीय गनबहादुर लोप्चानलाई नक्कली जस्तो देखिने नेपाली नोटसहित बुधबार राति पक्राउ गरेको हो।
काठमाडौँ महानगरपालिका–१४ कलंकीस्थित फुटपाथमा तरकारी किन्ने क्रममा तामाङले नक्कली नेपाली नोट लिइ आएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनलाई ५ सय दरको ९ थान नक्कली जस्तो देखिने नेपाली नोट सहित फेला पारी पक्राउ गरेको हो।
साथै थप अनुसन्धान गर्ने क्रममा प्रहरीले गनबहादुरलाई नियन्त्रणमा लिइ उनको कोठा तलासी गर्दा १ हजार दरको ५१ थान, ५ सय दरको ५७ थान, १ सय दरको २ थान नक्कली जस्तो देखिने नेपाली नोटसहित पक्राउ गरेको छ।
उनको साथबाट १ थान प्रिन्टर मेसिन, फोटो कपी पेपर तथा उक्त नोट बनाउन प्रयोग गरिने मेसिन र जाली जस्तो देखिने नोटलाई सक्कली जस्तो देखाउनका लागि सेक्युरिटी थ्रेड बनाउने कच्चा पदार्थ लगायतका विभिन्न सामानहरु फेला पारी बरामद गरेको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
