सिंगटी हाइड्रो इनर्जीको आईपीओ बिक्री खुल्ला

काठमाडौँ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले सर्वसाधारणमा धितोपत्रको प्रारम्भिक निष्कासान सार्वजनिक (आईपीओ) बिक्री खुला गरेको छ।

पहिलो चरणमा आयोजना प्रभावित दोलखाका स्थानीयलाई आईपीओ बिक्री गरिसकेको कम्पनीले दोस्रो चरणमा सर्वसाधारणको लागि आईपीओ बिक्री गर्न लागेको हो। कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका २९ लाख कित्ता साधारण सेयर बिक्री खुला गरेको हो।

Advertisement

जसमध्ये ५ प्रतिशत अर्थात् १ लाख ५४ हजार कित्ता सामूहिक लगानी कोषका लागि र २ प्रतिशत अर्थात् ५८ हजार कित्ता कर्मचारीको लागि सुरक्षित गरिएको छ । बाँकी रहेको २६ लाख ९७ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी १ अर्ब ४५ करोडको १० प्रतिशत स्थानीय आयोजना प्रभावित र २० प्रतिशत सर्वसाधारणको लागि बिक्री गर्ने अनुमति पाएको थियो।

जसअनुसार कम्पनीले यसअघि नै आयोजना प्रभावित क्षेत्र दोलाखाको बिगु र कालिञ्चोक गाउँपालिकाका स्थानीयको लागि सेयर बिक्री गरेको थियो। कम्पनीले स्थानीय आयोजना प्रभावितको लागि १४ करोड ५० लाख रुपैयाँ बरारबको १४ लाख ५० हजार कित्ता सेयर बिक्री गरेको हो।

मेगा क्यापिटल मार्केट लिमिटेड बिक्री प्रबन्धक रहेको कम्पनीको आईपीओमा सर्वसाधारणले छिटोमा चैत १० गतेसम्म आवेदन दिन सक्नेछन्। उक्त अवधिमा पर्याप्त आवेदन नपरेमा चैत २० गतेसम्म म्याद थप हुन सक्नेछ।

सर्वसाधारणले आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्। आईपीओ निष्कासनका लागि गराएको रेटिङमा कम्पनीलाई केयर रेटिङ नेपालले केयर एनपी डबल बी माइनस (आइएस) रेटिङ प्रदान गरेको छ । यसले वित्तीय दायित्व पूरा गर्न मध्यम जोखिममा रहेको जनाउँछ।

कम्पनीले दोलाखको सिंगटी खोलामा ‘रन अफ रिभर’ २५ मेगावाट क्षमताको सिंगटी खोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ। जसको कुल लागत ५ अर्ब ५० करोड ४६ लाख ६८ हजार रहेको छ।

कम्पनीको प्रतिमेगावाट लागत निर्माण अवधिको ब्याजसमेत २२ करोड लाग्ने कम्पनीको विवरणपत्रमा उल्लेख छ।आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ८.१६ वर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १६.४० वर्ष रहेको छ।

More News last news
Loading...