काठमाडौँ । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अब कहिल्यै पनि ट्वीटर चलाउन नपाउने भएका छन्।
ट्वीटरका प्रमुख वित्तिय अधिकारीका अनुसार ट्रम्प भविष्यमा पुनः अमेरिकी राष्ट्रपनि बनेतापनि उनलाई ट्वीटरले प्रतिबन्ध फुकुवा गर्ने छैन।
सिएनबिसीसँग बुधबार कुराकानी गर्दै ट्वीटरका सिएफओ नेड सेगलले ट्रम्पविरुद्ध ट्वीटरले लगाउने प्रतिबन्ध स्थायी भएको प्रष्ट पारेका हुन्।
उनले भनेका छन्, ‘हाम्रो नीति भनेकै जब तपाइँलाई प्लाटफर्मबाट हटाइन्छ तब तपाइँ सधैका लागि हटाइनुहुन्छ।
चाहे तपाइँ टिप्पणीकार हुनुहोस् वा प्रमुख वित्तिय अधिकारी तथा पूर्व वा वर्तमान सार्वजनिक अधिकारीहरु सबैको हकमा यो लागू हुन्छ।
स्मरण रहोस् मानिसहरुले हिंसालाई प्रवद्र्धन नगरुन् भन्नका लागि हाम्रा नीतिहरु तय गरिएको हुन्छ। यदि कसैले त्यसो गर्दछ भने हामीले त्यस्तालाई हटाउँछौँ र हाम्रो नीति अनुसार उनीहरुलाई पुनः आगमन गर्न अनुमति हुँदैन।’
अमेरिकी माथिल्लो सदन कंग्रेसमा ट्रम्पमाथिको महाअभियोगको प्रक्रिया अगाडि बढिरहेको बेला ट्वीटरका अधिकारीको यस्तो अभिव्यक्ति बाहिर आएको हो।
स्मरण रहोस् यदि कंग्रेसले ट्रम्प विरुद्धको महाअभियोग प्रस्ताव विफल पारेमा ट्रम्प आगामी राष्ट्रपतीय चुनावमा भाग लिन पाउनेछन्।
अघिल्लो महिना ह्वाइटहाउसबाट बहिर्गमन हुनु अगाडि ट्रम्प समर्थकले अमेरिकी संसद भवनमा हिंसा मच्चाएको घटना पश्चात् ट्वीटरले ट्रम्पमाथि प्रतिबन्ध लगाएको हो।
ट्रम्पले भविष्यमा पनि हिंसा मच्चाउने जोखिम भएको भन्दै ट्वीटरले उनको अकाउन्टलाई स्थायी रुपमा प्रतिबन्ध लगाएको हो।
ट्वीटर मात्र नभएर युट्युब तथा फेसबुक लगायतका सोसल मिडिया प्लाटफर्महरुले पनि ट्रम्पमाथि प्रतिबन्ध लगाएका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
