काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटकीय गन्तव्यमा पूर्वाधार निर्माण गर्नका लागि तनहुँ जिल्लाका विभिन्न आयोजना छनोट गरेको छ।
पर्यटन पूर्वाधार तथा पर्यटन उपजको विकास तथा प्रबद्र्धन गर्ने उद्देश्यले तनहुँको बन्दीपुर गाउँपालिका, भानु नगरपालिका, देवघाट गाउँपालिका र ब्यास नगरपालिकाका चार वटा आयोजना छनोट गरेको मन्त्रालयले जनाएको छ।
बन्दीपुरमा मुकुन्देश्वरी पदमार्ग पर्खाल (मिनी ग्रेटवाल), भानु नगरपालिकामा नेमुनी पार्क, देवघाट गाउँपालिकामा घण्टचुली पर्यटन क्षेत्र र ब्यास नगरपालिकामा १०८ फिट मूर्ति निर्माणमा मन्त्रालयले सम्बन्धित पालिकासँग साझेदारी गर्नेछ।
पर्यटकीय गन्तव्यमा पूर्वाधार निर्माणका लागि मन्त्रालयले रु १५ करोड ८५ लाख बजेट विनियोजन गरेको छ भने सम्बन्धित पालिकाले रु आठ करोड १५ लाख साझेदारी गर्नुपर्नेछ।
बन्दीपुर गाउँपालिकाले गत वर्षदेखि नै निर्माण शुरु गरेको मिनी ग्रेटवालका लागि मन्त्रालयबाट बजेट विनियोजन भएपछि कामलाई अगाडि बढाउन सहज हुने गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताए।
उनका अनुसार गत वर्ष एक हजार एक सय मिटर पदमार्ग निर्माण सम्पन्न भएको छ भने चालू आर्थिक वर्षमा पनि ३५ मिटर पदमार्ग निर्माण सम्पन्न भइसकेको छ।
गत वर्ष रु ७० लाख खर्च भएकामा चालू आर्थिक वर्षमा रु तीस लाखको काम भइरहेको छ। “पर्यटन मन्त्रालयको बजेटबाट शुरुवाती विन्दुबाट मिनी ग्रेटवालको कामलाई अन्तिम रुप दिने तयारी गरेका छौं,” उनले भने।
कूल साढे दुई किलोमिटर दूरी रहने मिनी ग्रेटवालसँगै यहाँ थप पूर्वाधार निर्माण गर्ने योजना छ। गुरुयोजना अनुसारका पूर्वाधार निर्माणका लागि रु १९ करोडलागत इष्टमेट गरिएको अध्यक्ष थापाले बताए।
यहाँ थानीमाई मन्दिर, उद्यान, सेल्फी उद्यान, प्याराग्लाइडिङ गर्ने ठाउँ, ९ मिटर अग्लो बन्दीपुर लेखिएको स्तम्भ, घोडा शयर, पुष्पलाल स्मृति पार्क, मुकुन्देश्वरी पार्कलगायतका संरचना निर्माण गर्ने योजना छ।
विश्वकै प्रशिद्ध ग्रेटवालको झल्को दिने गरी निर्माण गरिएको पदमार्ग पर्खालले यहाँको पर्यटन विकासमा टेवा पुग्ने विश्वास गरिएको छ।
बन्दीपुर गाउँपालिका-२ स्थित थानीमाई मन्दिरबाट निर्माण शुरु गरिएको पदमार्ग पर्खाल मुकुन्देश्वरी डाँडामा पुगेर टुङ्गिनेछ। मुकुन्देश्वरी डाँडा तत्कालीन राजा मुकुन्द सेनले शासन गरेको ठाउँ हो।
उक्त पदमार्ग पर्खाललाई पनि ‘मुकुन्देश्वरी पर्खाल’ को नामाकरण गरिएको छ। पदमार्ग पर्खाल तीन मिटर फराकिलो रहनेछ। बन्दीपुरमा वार्षिक एक लाखभन्दा बढी पर्यटक भ्रमणका लागि पुग्ने गरेका छन्। पदमार्ग पर्खाल निर्माण सम्पन्न भएसँगै पर्यटकको सङ्ख्या अझै बढ्ने अनुमान गरिएको छ।
मन्त्रालयले तनहुँको देवघाट गाउँपालिका–१ स्थित घण्टाचुली पर्यटन क्षेत्र विकासका लागि रु तीन करोड ५० लाख बजेट विनियोजन गरेको छ। त्यसमा गाउँपालिकाले रु एक करोड ५० लाख साझेदारी गर्नुपर्छ।
मन्त्रालयले विनियोजन गरेको बजेटले पर्यटकीय पूर्वाधार निर्माणका लागि सहयोग पुग्ने घण्टाचुली पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष खड्गबहादुर आलेले जानकारी दिए।
देवघाटधामको शिरमा अवस्थित घण्टाचुली समुद्र सतहदेखि एक हजार ६३० मिटर उचाइमा छ। धार्मिक, ऐतिहासिक, प्राकृतिक एवं पुरातात्विक महत्व बोकेको सो ठाउँमा राजदरबार, राजगद्धी र चौकीका भग्नावशेष रहेको छ।
यहाँस्थित घण्टाचुली कालिका मन्दिरमा मागेको कुरा पूरा हुने धार्मिक विश्वास छ। दुई सय हेक्टरभन्दा बढी क्षेत्रफलमा फैलिएको घनाजङ्गलमा अवस्थित सो ठाउँमा लालीगुराँस ढकमक्क फुलेको देख्न सकिन्छ। सो ठाउँबाट नेपालका १७ जिल्ला देख्न सकिने दाबी गरिएको छ।
“धार्मिक तथा ऐतिहासिक महत्व बोकेको यस ठाउँको जति प्रचारप्रसार हुनुपर्ने हो, त्यति हुनसकेको छैन”, उनले भने, “मन्त्रालयले यस ठाउँलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नका लागि बजेट विनियोजन गरेर यसको महत्व बुझेको आभाष भएको छ।”
यसैगरी भानु नगरपालिकास्थित नेमुनी पार्कका लागि रु तीन करोड २५ लाख मन्त्रालयबाट विनियोजन भएको छ भने पालिकाको तर्फबाट रु एक करोड ७५ लाख साझेदारी गर्नुपर्नेछ।
ब्यास नगरपालिका–३ मा निर्माण हुने १०८ फिट अग्लो ब्यासमूर्तिका लागि मन्त्रालयले रु चार करोड ५५ लाख बजेट विनियोजन गरेको छ भने ब्यास नगरपालिकाले रु दुई करोड ४५ लाख साझेदारी गर्नेछ।
ब्यास क्षेत्र शिवपञ्चायन विकास कोषका अध्यक्ष अशोककुमार श्रेष्ठले मूर्ति निर्माणका लागि ब्यास नगरपालिकाले केही दिनभित्रै बोलपत्र आह्वान गर्ने तयारी गरेको जानकारी दिए।
“दुई/चार दिनभित्रै बोलपत्रको तयारी भएको छ, मूर्ति निर्माणको काम अब अगाडि बढ्छ,” उनले भने। बोलपत्र भएपश्चात् पर्यटन मन्त्रालयले विनियोजन गरेको रकमबाट मूर्ति निर्माणको काम अगाडि बढ्छ।
गण्डकी प्रदेशको पर्यटन मन्त्रालयमार्फत् पनि कोषलाई चालु आर्थिक वर्षमा रु ३० लाख बजेट प्राप्त भएको छ। उक्त रकमबाट पूर्वतर्फको प्रवेशद्वार र देउरालीनगरतर्फबाट आउने बाटो निर्माणको काम गरिनेछ।
मन्त्रालयबाटै गत वर्ष प्राप्त रु दश लाखको लागतमा मुख्य प्रवेशद्वारको केही काम गरिएको छ। गुरुयोजना अनुसार सबै संरचना निर्माणका लागि रु ६४ करोड बजेट आवश्यक पर्दछ।
विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार मूर्ति र पेडेस्टल (स्तम्भ) निर्माणका लागि मात्रै रु ३४ करोड १६ लाख ७६ हजार ९९३ लाग्ने अनुमान गरिएको छ भने अन्य संरचना निर्माणका लागि रु २८ करोड ६८ लाख २८ हजार २१७ लाग्ने अनुमान रहेको छ।
ब्यासको मूर्ति निर्माणको थालनी विसं २०६८ सालदेखि भएको थियो। मूर्ति निर्माणका लागि रकम सङ्कलन गर्न सो बेला आयोजना गरिएको महायज्ञबाट करीब रु ७० लाख सङ्कलन भएको थियो।
उक्त रकममध्ये रु १० लाखको लागतमा नमूना मूर्ति निर्माण गरिएको छ, जुन ब्यास नगरपालिकाको हाताभित्र राखिएको छ।
निर्माण शुरु भएको चार वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको र पहिलो वर्ष मात्रै रु ७ करोड खर्च हुने अनुमान छ। ब्यासको मूर्ति अड्याउनका लागि तीन तल्लाको पेडेस्टल (स्तम्भ) निर्माण गरिनेछ। पेडेस्टल (स्तम्भ) निर्माणका लागि मात्रै डेढ वर्ष लाग्ने अनुमान गरिएको छ।
ब्यास मूर्ति निर्माणका ३० हजार किलो तामा आवश्यकपर्ने अनुमान छ। पेडेस्टल (स्तम्भ)भित्र सङ्ग्रहालय, पुस्तकालय हल प्रस्ताव गरिएको छ।
जेसिजबाट धारा निर्माण
जेसीआई ब्यास नगरले ब्यास नगरपालिका–३ स्थित दमौली अस्पताल जाने प्रवेश गेट नजिक बनाएको ढुङ्गेधाराको सोमबार उद्घाटन गरिएको छ। सर्वसाधारणलाई शुद्ध पानी उपभोग गर्ने वातावरण मिलाउन निर्माण गरिएको ढुङ्गेधाराको ब्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले उद्घाटन गरे।
सो अवसरमा नगरप्रमुख न्यौपानेले कामको सिलसिलामा बजार आउँदा पानी किनेर खानुपर्ने बाध्यताको अन्त्य भएको बताए। ब्यास नगरपालिका–३ का वडाध्यक्ष प्रेमकुमार श्रेष्ठले धाराको संरक्षणमा जोड दिए।
ब्यास नगरपालिका–३ का वडा सदस्य रवीन पौडेलले वडाले धेरै पहिलादेखि धारा निर्माण गर्ने सोच राखे पनि वडा कार्यालयकै प्रस्तावमा जेसीजले धारा निर्माण गरेकामा धन्यवाद ज्ञापन गरे।
रु तीन लाखको लागतमा निर्माण सम्पन्न भएको धारामा शुद्धिकरण गरिएको पानी ल्याउने व्यवस्था मिलाइएको जेसीज ब्यास नगरका अध्यक्ष लक्ष्मीभक्त खनालले जानकारी दिए। दमौलीका अन्य चोकमा पनि धाराको आवश्यकता रहेकाले ब्यास नगरपालिकासँग समन्वय गरेर त्यसका लागि पहल गरिने उनले जानकारी दिए।
सवारी साधनलाई जरिवाना
आँबुखैरेनी गाउँपालिका र भानु नगरपालिकास्थित नदीबाट नदीजन्य पदार्थ अवैध रुपमा उत्खनन गर्ने सवारीलाई जरिवाना गरिएको छ।
आँबुखैरेनी गाउँपालिका–३ कुडुलेघाटस्थित मस्र्याङ्दी नदीबाट नियन्त्रणमा लिइएको एक एक्साभेटर र भानु नगरपालिका–११ पाउदीखोलाबाट नियन्त्रणमा लिइएको दुई वटा ट्याक्टरलाई सम्बन्धित पालिकाले जरिवाना गरेका हुन्।
आँबुखैरेनीस्थित मस्र्याङ्दी नदीबाट प्रहरीले बा २ क ४३५३ नं को एक्साभेटर नियन्त्रणमा लिएको भने भानु नगरपालिका–११ पाउदीखोलाबाट ग्राबेल ढुङ्गा उठाइरहेको अवस्थामा ग १ त ९८४० र ग ६ त ६६२ नं को दुई वटा ट्याक्टर नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए।
नियन्त्रणमा लिइएका सवारीलाई सम्बन्धित पालिकामा कारवाहीका लागि पठाइएकामा आँबुखैरेनीले रु २० हजार र भानु नगरपालिकाको रु २४ हजार जरीवाना गराएको छ।
खोप अभियान सञ्चालन
दोस्रो चरणको खोप अभियान तनहुँ जिल्लामा उत्साहजनक रुपमा सञ्चालन भइरहेको छ। तनहुँ जिल्लाका तीन वटा खोप केन्द्रमा खोप लगाउन जनप्रतिनिधि, कर्मचारी, पत्रकारलगायतको उत्साहजनक उपस्थिति रहेको पाइएको हो।
स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले कोभिड विरुद्धको खोप लगाउनका लागि उत्साहजनक उपस्थिति रहेको जानकारी दिए। उनका अनुसार दोस्रो चरणमा तीन हजार भन्दा बढीलाई खोप लगाउने कार्यक्रम छ।
खोप लगाउनका लागि दमौली अस्पताल, जिपी कोइराला श्वासप्रश्वास उपचारकेन्द्र र आँबुखैरेनी स्वास्थ्यचौकीमा खोप केन्द्र कायम गरिएको छ।
दमौली अस्पतालमा ब्यास, भानु, बन्दीपुर, ऋषिङ र म्याग्दे, जिपी कोइराला उपचार केन्द्रमा शुक्लागण्डकी, भीमाद, घिरिङ र ऋषिङ तथा आँबुखैरेनीमा आँबुखैरेनी, देवघाट र बन्दीपुरका लक्षित समूहलाई खोप लगाउनेछ।
दुई दिनको अवधिमा तनहुँमा ९२६ जनाले कोभिड विरुद्धको खोप लगाएका छन्। दोस्रो चरणको खोप अभियानअन्तर्गत तनहुँमा सोमबारसम्म कूल लक्ष्यको २८.२ प्रतिशतले खोप लगाएका हुन्।
सोमबारसम्म ३१५ स्थानीय तहका कर्मचारी/जनप्रतिनिधि, १३ पत्रकार, ९७ निजामती सेवाका कर्मचारी, ११८ बैँक तथा वित्तीय संस्थाका कर्मचारी, ८६ नेपाल प्रहरी, १३ सशस्त्र प्रहरी, ७३ संस्थान/प्राधिकरणका कर्मचारी, ३१ पहिलो चरणमा छुटेका व्यक्तिले खोप लगाएका छन्।
स्थानीय पाठ्यक्रम बनाउने तयारीमा म्याग्दे
म्याग्दे गाउँपालिका स्थानीय पाठ्यक्रम निर्माणका लागि जुटेको छ । केन्द्रबाट तय हुने पाठ्यक्रमले स्थानीय संस्कृति, जनजीवन, भूगोललगायतलाई समेट्न नसक्ने महसुस गर्दै गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माणको तयारी गरेको हो ।
स्थानीय पाठ्यक्रम निर्माणका लागि गाउँपालिकाले प्रारम्भिक मस्यौदामाथि छलफल तथा सुझाव सङ्कलन गरेको छ। म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले केन्द्रमा निर्मित पाठ्यक्रमले स्थानीय विषयवस्तु र आवश्यकता महशुस गर्न नसक्ने हुँदा स्थानीय पाठ्यक्रमको आवश्यकता परेको बताए। गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले म्याग्देको परिचय दिने खालको पाठ्यक्रम तयार गर्नुपर्ने बताए।
गाउँपालिकाभित्र सञ्चालित एकदेखि ५ कक्षासम्मका विद्यालयमा स्थानीय पाठ्यक्रम निर्माणको तयारी गरिएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए।
विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ मा भएको प्रावधान अनुसार स्थानीय तहले आधारभूत तहमा एक सय पूर्णाङ्कको स्थानीय पाठ्यक्रम निर्माण गरी लागू गर्न पाउने व्यवस्था छ।
स्थानीय पाठ्यक्रम निर्माण समितिका संयोजक श्रीबहादुर थापा, जिल्ला विकास समितिका पूर्व सभापति विश्वबहादुर अधिकारी, शिक्षा विकास तथा समन्वय इकाई तनहुँका प्रमुख रमाकान्त शर्मा लगायतले स्थानीय पाठ्यक्रम विकास तथा कार्यान्वयन मार्गदर्शनमा रहेर पाठ्यक्रम बनाउनुपर्नेमा जोड दिए।
स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई भत्ता
म्याग्दे गाउँपालिकाले स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई एक महिना बराबरको खाना र बस्नका लागि भत्ताको व्यवस्था गर्ने कार्यक्रम ल्याएको छ।
मातृ तथा नवशिशु स्वास्थ्य र पोषण प्रबद्र्धन एवं व्यवस्थापन कार्यक्रम बमोजिम गाउँपालिकाले स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई एक महिना बराबरको पोषण भत्ता उपलब्ध गराउन लागेको हो।
सुरक्षित प्रसूति तथा कुपोषणमुक्त गाउँपालिका बनाउने उद्देश्यसहित यस्तो कार्यक्रम ल्याइएको गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले जानकारी दिए।
“स्वास्थ्य क्षेत्र सुदृढ गर्न तथा सुरक्षित प्रसूति एवं कुपोषणमुक्त बालबालिका बनाउन यो कार्यक्रम ल्याएका हौँ”, उनले भने, “यसले मातृ मृत्युदर घटाउनुका साथै आमा र शिशुको स्वास्थ्यलाईसमेत फाइदा पुग्छ।”
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीका अनुसार प्रसूति हुनुभन्दा अगाडिको र भएपछिको १५/१५ दिनको समय गरी एक महिना अस्पताल वा स्वास्थ्य संस्थामा रहँदा पोषणयुक्त खाना (खाना, मासु, अण्डा, दूध, फलफूल, हर्लिक्स) व्यवस्थापन गर्ने वा सोबापत प्रतिदिन रु आठ सयका दरले भत्ता उपलब्ध गराइनेछ।
साथै सुत्केरीलाई घर पठाउँदा प्रतिव्यक्ति रु दुई हजार यातायात खर्च र रु ६ हजार नवशिशु पोषण खर्च गरी रु आठ हजार भत्ता उपलब्ध गराउने व्यवस्था गरिएको छ।
प्रसूति कुरुवाका लागि पनि भत्ताको व्यवस्था गरिएको छ। “हामीले यो व्यवस्था नेपालमै पहिलो पटक शुरुवात गरेका छौ, महिलाले यो सुविधा पाउन थालिसकेका छन्”, प्रशासकीय अधिकृत अधिकारीले भने।
गाउँपालिकाभित्रका स्वास्थ्य संस्थामा सम्भव नहुने जटिल प्रकृतिको गर्भवतीलाई अन्यत्र प्रसूति गराउन जाँदा पनि यातायात खर्चबापत रु पाँच हजार उपलब्ध गराइनेछ। “स्वास्थ्य संस्थामा ल्याउँदा र घर लैजादाको खर्चको व्यवस्थापन पनि गाउँपालिकाले मिलाउनेछ,” उनले भने।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
