त्रिविमा नयाँ शैक्षिक सत्र स्नातक तह फागुन र स्नातकोत्तर वैशाखबाट

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको स्नातक तथा स्नातकोत्तर तहको शैक्षिक सत्रमा परिवर्तन हुने भएको छ। कोरोना भाइरसका कारण १० महिनाभन्दा बढी समयसम्म विश्वविद्यालयका भौतिक कक्षा, परीक्षा सञ्चालन हुन नसकेपछि शैक्षिक सत्रमा परिवर्तन गर्ने निष्कर्षमा विश्वविद्यालय पुगेको हो।

विश्वविद्यालयको तयारीअनुसार अब स्नातक तहको शैक्षिक सत्र फागुन महिनाबाट सुरु गरिने छ। यसअघि मङ्सिर महिनाबाट स्नातक तहको पठनपाठन सुरु गर्ने विश्वविद्यालयको नियम रहे पनि तीन महिनापछाडि सार्नुपर्ने अवस्था देखिएको विश्वविद्यालयका शिक्षाध्यक्ष प्राडा शिवलाल भुसालले जानकारी दिए।

Advertisement

आगामी वर्षदेखि पनि स्नातक तहको शैक्षिक सत्र फागुनलाई नै मानिने भएको छ। यस वर्ष पनि विश्वविद्यालय मातहतका अध्ययन संस्थान तथा सङ्कायहरूले फागुनलाई नै आधार मानेर विद्यार्थी भर्ना कार्यक्रम प्रकाशित गर्ने भएका छन् । नियमित पठनपाठन १० महिना सकाएर १२ महिनामा वार्षिक परीक्षा सक्ने विश्वविद्यालयको तयारी छ।

यस पटक राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ मा अध्ययन गर्ने विद्यार्थीको नतिजा पनि छिट्टै प्रकाशित गर्दैछ । बोर्डले गत मङ्सिर दोस्रो साता कक्षा १२ को परीक्षा सञ्चालन गरेको थियो।

बोर्डको कार्यतालिकालाई मिलाएर स्नातक तहको भर्ना खोलिएको जानकारी शिक्षाध्यक्ष भुसालले दिए। कक्षा १२ को नतिजा प्रकाशन र स्नातक तहको नयाँ भर्ना खोल्ने समयका बीचमा एक दुई महिनाभन्दा बढी फरक नहुने गरी मिलाइने जनाइएको छ।

यसका साथै विश्वविद्यालयले स्नातकोत्तर तहमा वैशाख अन्तिमबाट नयाँ शैक्षिक सत्र सुरु गर्ने भएको छ। यसअघि चैतमा स्नातकोत्तर तहको शैक्षिक सत्र सुरु गर्ने गरिए पनि अब भने वैशाखबाट मात्रै शैक्षिक सत्र सुरु गर्ने तयारीमा आफूहरू पुगेको जानकारी शिक्षाध्यक्ष भुसालले दिए।

हाल विश्वविद्यालयमा स्नातक तहका वार्षिक परीक्षाका कार्यक्रम सञ्चालन भइरहेका छन्। यसका आधारमा पनि स्नातकोत्तर तहको शैक्षिक सत्र वैशाखमै पुग्ने स्थिति देखिएको उनको भनाइ छ। स्नातकोत्तर तहमा एक डेढ महिना मात्रै शैक्षिक सत्र परिवर्तन गर्नुपर्ने अवस्था रहेको जानकारी विश्वविद्यालयले दिएको छ। आजको गोरखापत्र दैनिकमा खबर छ।

More News last news
Loading...