काठमाडौँ । साताको अन्तिम कारोबार दिन शेयर कारोबार रकमले ऐतिहासिक रेकर्ड कायम गरेको छ। यसअघि दुई पटकको कारोबार रकमको उच्च रेकर्डलाई बिहीबार पुनः ब्रेक गरेको हो।
बिहीबार रु ९ अर्ब ८९ करोड ८४ लाख ५६ हजार बराबरको २ करोड २१ लाख ५३ हजार कित्ता शेयर कारोबार भएको हो।
यसअघि गत मंसिर १४ गतेको रु। ९ अर्ब २२ करोड ७३ लाख ४८ हजार बराबरको शेयर कारोबार रेकर्ड माघ ११ गते रु ९ अर्ब ३७ करोड ६० लाख ५३ हजार बराबरको शेयर कारोबारले ब्रेक गरेको थियो।
बिहीवार भएको शेयर कारोबार कित्ता पनि हालसम्मकै उच्च रहेको छ । यसअघिको कारोबारमा २ करोडभन्दा कम कित्ता मात्र शेयर कारोबार भएको थियो । कारोबार रकममा सर्वाधिक हिस्सा भने नेपाल लाइफ इन्स्योरेन्सले नै ओगटेको छ।
नेपाल लाइफको रु ५७ करोड ६८ लाख ९१ हजार बराबरको शेयर कारोबार भएको हो। यो दिन कम्पनीको शेयर मूल्य प्रतिकित्ता रु ६२ ले घटेर अन्तिम मूल्य रु २ हजार ३४९ कायम भएको छ।
बुधबार सर्किट लेभलमा बढेको कम्पनीको मूल्य बिहीबार २ दशमलव ५७ प्रतिशत घटेको हो। कारोबार रकमले ऐतिहासिक रेकर्ड कायम गरेको दिन नेप्से परिसूचक भने १६ दशमलव ५५ अंक घटेर २ हजार ४२५ दशमलव २९ बिन्दुमा झरेको छ। सेन्सेटिभ इन्डेक्स पनि ४ दशमलव ३२ अंक घटेर ४४२ दशमलव शून्य ६ विन्दुमा बन्द भएको छ।
बिहीबार निर्जीवन बीमा समूहको परिसूचक सर्वाधिक ३ दशमलव ३८ प्रतिशतले बढेको छ । यो दिन उत्पादन तथा प्रशोधनको २ दशमलव ८२ प्रतिशत र लघुवित्तको २ दशमलव १४ प्रतिशतले परिसूचक बढेको छ भने बाँकी समूहको घटेको छ।
बैंकिङ समूहको सर्वाधिक २ दशमलव ३४ प्रतिशत परिसूचक घटेको हो भने व्यापारिकको शून्य दशमलव १७ प्रतिशत, होटलको १ दशमलव २७ प्रतिशत, विकास बैंकको १ दशमलव ७२ प्रतिशत, जलविद्युत्को १ दशमलव २१ प्रतिशत, वित्तको १ दशमलव ५५ प्रतिशत, अन्यको शून्य दशमलव ५७ प्रतिशत, जीवन बीमाको शून्य दशमलव २४ प्रतिशत र म्युचुअल फण्डको १ दशमलव ७९ प्रतिशत परिसूचक घटेको हो। आजको आर्थिक अभियान दैनिकमा खबर छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
