काठमाडौँ । नेपाल सरकारले परीक्षणका रूपमा प्रयोगमा ल्याएको नागरिक एप प्रयोगमा समस्या भएको धेरै गुनासो आएको छ। गुनासो आउनुको मुख्य कारण आफूले प्रयोग गरिरहेको मोबाइल नम्बरलाई एपले सपोर्ट नगर्नु हो।
नेपाल टेलिकमका धेरै ग्राहकको सिम आफ्नै नाममा दर्ता भए पनि केही ग्राहकले अरूको नाममा रहेको सिम प्रयोग गरिरहेकाले यस्तो समस्या आएको हाे। कम्पनीका ग्राहकले *922# डायल गरेर आफूले प्रयोग गरिरहेको सिम कार्ड आफ्नो नाममा छ/छैन र नामको हिज्जे सही छ/छैन थाहा पाउन सक्छन्।
सिम कार्ड आफ्नो नाममा नरहेमा विवरण अद्यावधिक वा नामसारी गर्न तथा आफ्नो नामको हिज्जे सही नभएमा सच्याउनका लागि नजिकको दूरसञ्चार कार्यालयमा सम्पर्क गर्नु पर्दछ।
प्रिपेड सिमकार्ड ग्राहक विवरण अद्यावधिक गर्न के गर्ने ?
अरूको नाममा रहेको प्रिपेड सिम कार्ड लामो समयदेखि आफैले प्रयोग गरिरहेको अवस्थामा आफ्नो सक्कल नागरिकताको प्रमाणपत्र, फोटोकपी र एक प्रति फोटो लिएर नजिकैको दूरसञ्चार कार्यालयमा जानुपर्छ र कबुलियतनामाको फाराम भरि अद्यावधिक गर्न सकिन्छ। साथै विगत ६ महिनाभित्र सिम कार्डबाट भएका केही कलहरू भेरिफाइ गर्नुपर्दछ।
पोस्टपेड सिमकार्ड ग्राहक विवरण अद्यावधिक तथा नामसारी गर्न के गर्ने ?
पोस्ट पेड सिम कार्ड नामसारीका लागि अहिले सिम कार्ड प्रयोग गरिरहेको व्यक्ति र कम्पनीको अभिलेखमा भएको प्रयोगकर्ता दुवै व्यक्ति दूरसञ्चार कार्यालयमा उपस्थिति हुनुपर्दछ।
अभिलेखमा सिम कार्ड प्रयोगकर्ताको नाम भएको व्यक्ति उपस्थित हुन नसक्ने भएमा सम्बन्धित व्यक्तिको नागरिकता प्रमाणपत्रको फोटोकपी र वारेसनामा आवश्यक पर्दछ।
साथै सिम कार्ड प्रयोग गरिरहेको व्यक्तिको नागरिकताको सक्कल प्रमाणपत्र, फोटोकपी र एकप्रति फोटो आवश्यक पर्दछ।संस्थाको हकमा दुवै संस्थाको प्यान नम्बर तथा दर्ताको कागजात आवश्यक पर्दछ। यी कागजात लिइ दूरसञ्चार कार्यालयमा उपस्थित भइ नियमअनुसार नामसारी गर्न सकिन्छ।
दूरसञ्चार कार्यालयहरूबाट ग्राहकको विवरण अद्यावधिक/नामसारी गर्ने तथा नाम सच्याउने कार्य प्राथमिकताका साथ गर्ने तयारी भइरहेको हुनाले आगामी हप्तादेखि थप प्रभावकारी रूपमा सेवा ग्राहकहरूलाई उपलब्ध गराउने टेलिकमले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
