थाहा पाउनुभयो ? पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल तथा डिजेल–मट्टितेलको मूल्यवृद्धि गरेको छ।

आज (सोमबार) रातिदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल–मट्टितेलको साबिक खुद्रा बिक्री मूल्यमा प्रतिलिटर दुई रुपैयाँका दरले वृद्धि गरिएको निगमले जनाएको छ।

Advertisement

निगमको डिपो क्षेत्रको १५ किलोमिटर परिसरभित्रका लागि पेट्रोल तथा डिजेल–मट्टितेलको नयाँ खुद्रा बिक्री मूल्य क्रमशः ११० र ९३ रुपैयाँ प्रतिलिटर कायम गरेको छ । हवाई इन्धन तथा एलपी ग्यासको मूल्य अहिलेलाई यथावत् नै राखिएको निगमले जनाएको छ ।

मूल्य समायोजनपश्चात् पनि पेट्रोलमा प्रतिलिटर ४.३४, डिजेलमा प्रतिलिटर २.९६ रुपैयाँ तथा एलपी ग्यासमा प्रतिसिलिन्डर १३४.७२ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ ।

अर्धवार्षिक रुपमा निगमलाई ४९.८८ करोड रुपैयाँ घाटा हुने र घाटा रकम मूल्य स्थिरीकरण कोष तथा निगमको सञ्चित नाफाबाटा व्यवस्थापन गरी पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज गरिने निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

अहिलेको मूल्य समायोजन पश्चात् पनि भरतीय सीमा रक्सौलसँग जोडिएको नेपालको वीरगञ्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर ३२.२६ र डिजेल प्रतिलिटर ३७.६४ रुपैयाँले नेपालतर्फ सस्तो रहेको पनि निगमले जनाएको छ।

निगमले पछिल्लो समय पेट्रोलियम पदार्थको स्वचालित मूल्य कार्यान्वयन कार्यविधि, २०७१ अनुसार प्रत्येक महिनाको १५–१५ दिनको अन्तरमा मूल्य समायोजन गर्दै आएको छ।

निगमले एलपी ग्यासको बिक्री मूल्य २०७६ माघ २० गतेदेखि लागू हुने गरी प्रतिसिलिन्डर एक हजार ३७५ रुपैयाँ कायम गरेको थियो।

More News last news
Loading...