विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले किँरात समुदायको महान चाड उद्यौली (साकेला, साकेन्वा, चासोक तङ्नाम, चासुवा, फोलस्वाँदर, कुलुङहरुको (मिनारिदाचाम, चासुम्लो निङ्दोङ, चाक्चाकुर), गुरुङ जातीको तमु ल्होसार, धान्यपूर्णिमा र योमरी पुन्हि २०७७ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ।
आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राईले यहाँ मनाउने उद्यौली, चाक्चाकुर, तमु ल्होसार, धान्यपूर्णिमा, योमरी पुन्ही जस्ता चाडपर्वले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक, जातिय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान कायम गर्नमा महत्वपूर्ण योगदान गरेको उल्लेख गर्नुभएको छ।
यस प्रकारका मौलिक साँस्कृतिक चाड पर्वहरुले सामाजिक एवं पारिवारिक जमघट गराउने र समुदायबीचमा आपसी सद्भाव सुमधुर बनाउन सहयोग गरेको सन्देशमा उल्लेख छ ।
धार्मिक तथा सांस्कृतिक विविधताले सम्पन्न हाम्रो मुलुकमा मनाइने यस्ता चाडपर्वहरुको माध्यमबाट कायम हुने एकता तथा सामाजिक सद्भावलाई दिगो र दरिलो बनाउने तर्फ लाग्नु हामी सबैको कर्तव्य समेत रहेको मुख्यमन्त्री राईले उल्लेख गर्नुभएको छ।
मुख्यमन्त्री राईले सुरक्षित र सजगता अपनाएर चाडपर्व मनाउन समेत आग्रह गर्नुभएको छ । विगत वर्षहरुमा हर्षाेल्लासका साथ मनाउँदै आएका हाम्रा चाडपर्वहरु यसबर्ष कोरोना भाइरसका कारण असहज र अप्ठ्यारो परिस्थितिमा मनाउनु परेको छ । कोरोना भाइरसको बढ्दो संक्रमणबाट बच्न जो जहाँ छौं, त्यही बसेर सुरक्षित तवरले चाडपर्व मनाउन मेरो विशेष अनुरोध छ, आफ्नो शुभकामना सन्देशमा मुख्यमन्त्री राईले उल्लेख गर्नुभएको छ ।
यी पर्वले नेपालका सबै जातजाती एकताबद्ध भै आपसी सद्भाव तथा भातृत्व अभिवृद्धि गरी स्वच्छ, सुखी र समुन्नत प्रदेश निर्माणमा अगाडि बढ्न सबैमा उत्प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्दछु मुख्यमन्त्रीद्धारा जारी गरिएको सन्देशमा भनिएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
