काठमाडौँ । विद्यालयको त्रुटिका कारण कक्षा १२ को परीक्षाफल प्रकाशनमा ढिलाइ हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले विद्यालयले गल्ती नगरेको भए पुसको दोस्रो साता परीक्षाफल प्रकाशित गर्ने तयारी गरेको थियो।
विद्यालयले हातले लेखेर मनपरीरुपमा सिम्बोल नम्बर इन्ट्री गरी पठाएको कारण समस्या परेको हो। तोकिएको निर्देशनअनुसार सिलसिलेवाररुपमा सिम्बोल नम्बर लेख्नुपर्नेमा मनोमानीरुपमा लेखेका कारण समस्या परेको बोर्डको भनाइ छ।
‘सिम्बोल नम्बर पठाउँदा मनपरी भएको कारण पुसमा परीक्षाफल प्रकाशित गर्न समस्या पर्ने देखिएको छ । तैपनि पुसको अन्तिम सातामा परीक्षाफल प्रकाशित गर्ने तयारी गरेका छौं।’ –बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले भने। उनले उत्तरपुस्तिका परीक्षणमा समेत त्रुटि भएका कारण थप समस्या सिर्जना भएको बताउए ।
बोर्डले केही विद्यालयको उत्तरपुस्तिका परीक्षण गर्दा गलत भेटिएपछि सबै उत्तरपुस्तिका परीक्षण गर्न सम्बन्धित विषय शिक्षकलाई नै बोलाएर परीक्षण गर्न लगाएको थियो। एउटा विद्यार्थीको परीक्षण गलत भेटेपछि सबै विद्यार्थीको उत्तरपुस्तिका पुनः परीक्षण गर्न लगाएको बोर्डको भनाइ छ।
‘सबै विषयमा प्रशिक्षण दिँदा, पटकपटक सिकाउँदा पनि विद्यालयबाटै दोहोर्याएर गल्ती गरेका कारण परीक्षाफल प्रकाशित गर्न ढिला हुने भएको छ।’ –अध्यक्ष प्रा.डा. पौडेलले भने। यतिसम्म कि केही विद्यालयले २० प्रतिशत अंकको आन्तरिक मूल्याङ्कन गर्नुपर्नेमा २० अंकको गर्दा थप समस्या देखिएको छ । बोर्डले यस्तै अवस्थाको कारण परीक्षाफल प्रकाशितमा ढिलाइ हुने जनाएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
