काठमाडौँ । एनसेलका ग्राहकले अब आन्तरिक श्रम बजारमा उपलब्ध रोजगारीका अवसर वा आफूलाई आवश्यक परेको जनशक्ति सजिलै खोज्न सक्ने भएका छन्।
एनसेल आजियाटा लिमिटेडले नयाँ सेवा ‘एनसेल जबशप’ सुरु गरेको छ। यो सेवाले रोजगारी खोज्ने र प्रदान गर्ने दुवै पक्षलाई एकै भर्चुअल प्लेटफर्ममा भेटाउने काम गर्दछ।
एनसेलले आफ्नो अहिले सञ्चालनमा रहेको अभियान ‘अनपज’ (#npause) अन्तर्गत यो सेवा सञ्चालनमा ल्याइएको जनाएको छ। यो अभियानले अहिलेको विषम परिस्थितिमा भविष्यको पुनर्विचार गर्दैै अघि बढ्न अभिप्रेरित गर्ने उद्देश्य लिएको छ।
एनसेलका चिफ कमर्सियल अफिसर प्रदीप श्रीवास्तवले भने, ‘कोभिड–१९ महामारीले गर्दा धेरैले रोजगारी गुमाउनु परेको छ।
भर्चुअल रूपमा सम्पर्कमा रहन सकिने विकासले गर्दा अहिलेको अवस्थामा पनि अनलाइन नेटवर्कमार्फत एक अर्कासँग सम्पर्क स्थापित गर्न सकिने भएको छ।
कार्यस्थलभन्दा टाढै बसेर पनि काम गर्ने र रोजगारीका अवसरहरू खोज्ने प्रवृत्ति बढिरहेको बेलामा कामको खोजिमा रहेका व्यक्तिलाई सिधै रोजगारदातासँग जोड्ने यो नवीन सेवा ल्याउन पाएकोमा हामी हर्षित छौँ। अर्थतन्त्रमा बिस्तारै सुधार हुन थालेको बेलामा यो एनसेल जबशपले विषम परिस्थितका बेला काम गुमाएकालाई विभिन्न रोजगारीका अवसरसँग जोड्दछ।
अहिलेको सुरुवाती अवस्थामा शारीरिक रूपमा काम गर्ने श्रमिकरकामदार र यस्ता जनशक्ति चाहनेले यो सेवा आफ्नै मोबाइलबाट लिन सक्नेछन्।
कामको खोजीमा रहेका व्यक्ति र काम दिने व्यक्तिको आवश्यकताबीच प्रत्येक पटक मेल खाएपछि दुवै पक्षलाई एसएमएसमार्फत सन्देश प्राप्त हुन्छ।
एनसेलको सेवा प्रयोग गर्ने र कामको खोजीमा रहेका जो कोही श्रमिक वा कामदारले रोजगारी खोजिरहेको व्यक्तिका रूपमा यो सेवा सुरु गर्न सक्छन् ।
सर्वप्रथम आफूले खोजिरहेको काम र आफ्नो दक्षताअनुसार प्रोफाइल बनाएर यो सेवा सुरु गनुपर्ने हुन्छ । कामदार खोजिरहेका व्यक्तिले पनि आफ्नो आवश्यकतालाई प्रोफाइल बनाउनुपर्ने हुन्छ। जब–जब काम खोज्ने र कामदार खोज्नेको आवश्यकतासम्बन्धी पोस्ट मेल खान्छ तब एसएमएस मार्फत दैनिक रूपमा दुवै पक्षलाई यससम्बन्धी जानकारी जान्छ।
यो सेवा लिन इच्छुक ग्राहकले ८१७१३७३ डायल गरी वा एनसेल जबशप डट कम वेबसाइटमा गइ दिइएको निर्देशन अनुसार कामदार वा काम दिने व्यक्तिले आफ्नो आवश्यकता अनुसार यो सेवा सुरु गर्न सक्नेछन्।
काम दिने व्यक्ति वा रोजगारदाताको लागि एउटा आवश्यकता पोस्ट गर्न करसहित रु ६.३८ लाग्छ र एक पटक पोस्ट गरेको कामको विवरण एक हप्तासम्म रहनेछ।
त्यसैगरी कामको खोजीमा रहेका ग्राहकले तीन दिन, सात दिन, एक महिना, ६ महिना वा वार्षिक गरी विभिन्न समयसीमामा रहेर यो सेवा सुरु गर्न सक्नेछन्। कामको खोजीमा रहेका व्यक्तिले करसहित रु ३.८३ मा तीन दिनको प्याक खरिद गर्न सक्नेछन् र त्यसैअनुसार प्याकको समयसीमाभित्र त्यस कामदारको प्रोफाइल सक्रिय रहनेछ।
ग्राहकले करसहित रु ८.९४ मा सात दिनको र करसहित रु ३८.३१ मा ३० दिनको समयसीमा रहेको प्याक सुरु गर्न सकिने एनसेलले जनाएको छ। अलि धेरै समयको लागि आफ्नो प्रोफाइल सक्रिय राख्न चाहने ग्राहकले ६ महिना र १२ महिना समयसीमा रहेको प्याक करसहित मात्र रु १५३.२२ र २२९.८४ मा सुरु गर्न सक्नेछन्।
यही ‘अनपज’ अभियानअन्तर्गत एनसेलले योभन्दा अगाडि महिला वर्गलाई लक्षित गर्दै आकर्षक गो सिम योजना ल्याएको थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
