एजेन्सी । कोरोनाभाइरसबाट सवैभन्दा धेरै प्रभावित भएको मुलुक अमेरिकामा एकैदिनमा पौने २ लाख मानिस सङ्क्रमित हुन थालेका छन्।
विश्वव्यापी महामारी फैलिएको शुरु देखि नै बढी सङ्क्रमित रहेको अमेरिकामा अहिले पनि सङ्क्रमितको संख्या दिन प्रतिदिन बृद्धि हुदै गइरहेको छ।
सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा अमेरिकामा एक लाख ७७ हजार मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्।
एकैदिनमा यति धेरै सङ्क्रमित भएको यो पहिलो भएको पनि अधिकारीहरुलाई उद्धृत गर्दै वासिङ्टन पोष्टले लेखेको छ।
अहिले सबै राज्यहरुमा कोरोनाभाइरसबाट सङ्क्रमितहरुको संख्यामा बृद्धि हुँदै गएको र कम्तीमा दश राज्यमा यो संख्या उच्च रहेको अधिकारीहरुले जनाएका छन्।
सङ्क्रमितको संख्यामा बृद्धि हुँदै गएपछि स्थानीय सरकारी अधिकारीहरुले सतर्कता अप्नाउन आह्वान गर्दै आएका छन्।
मास्कको प्रयोगको विपक्षमा रहेका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प राष्ट्रपतिय निर्वाचनबाट पराजित भएपछि स्थानीय अधिकारीहरुले पनि मास्कको प्रयोगलाई जोड दिन थालेका छन्।
कतिपय ठाउँमा मास्कको प्रयोग अनिवार्य नै गरिएको छ। जबकी यसअघि सरकारी अधिकारीहरुले नै मास्कको प्रयोगलाई अनिवार्य गर्नु अलोकतान्त्रिक र स्वतन्त्रता विपरित हुने तर्क गरेका थिए।
सरकारी अधिकारीहरुले अहिले सकेसम्म घरमै रहेर मात्रै गतिविधिहरु गर्न, बाहिर सकेसम्म ननिस्कन, निस्केपनि मास्कको प्रयोग गर्न, सामाजिक दुरी कायम गर्न, भिडभाड नगर्न, गर्नै परेपनि मापदण्ड पालना गरेर अति न्युन संख्यामा मात्र गर्न आग्रह गरेका छन्।
अमेरिकामा अहिलेसम्म कोरोनाभाइरसबाट कुल एक करोड सात लाख २८ हजार ४९७ जना सङ्क्रमित भएको हकिङ्स विश्वविद्यालयले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
