पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरामा एकैदिन थप १७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार पोखरामा थप ५ जना संक्रमितले ज्यान गुमाएका छन्।
क्षयरोग उपचार केन्द्र पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र लाइफ केयर एन्ड डाइग्नस्टिकमा गरिएको परीक्षणमा पोखरामा ठुलो संख्यामा संक्रमण पुष्टि भएको हो।
निर्देशनालयका अनुसार पोखरामा मात्रै सक्रिय संक्रमितको संख्या १००० नाघेको छ।
त्यसैगरी पोखरा महानगरपालिका-३२ का ४२ वर्षीय पुरुष, पोखरा-२६ का ७३ वर्षीय पुरुष, पोखरा–२५ का ५२ वर्षीय पुरुष, पोखरा–१६ का ५९ वर्षीय पुरुष र पोखरा १६ कै २८ वर्षीय पुरुषको संक्रमणका कारण ज्यान गएको छ। योसँगै कास्की जिल्लाभार मृतकको संख्या ३८ पुगेको छ।
पोखराका १७९ सहित प्रदेशभर भने बुधबार २६४ कोरोना संक्रमित थपिएका छन्।
अन्य संक्रमितहरुमा स्याङ्जाका २२ जना, तनहुँका १९ जना, नवलपरासी पूर्वका १८ जना, म्याग्दीका १३ जना, लमजुङका ८ जना, गोरखाका ३ जना र पर्वतका २ जना छन्।
योसँगै प्रदेशमा कुल संक्रमितको संख्या ८ हजार २६४ पुगेको छ। तनहुँका पनि एक संक्रमितको मृत्यु भएसँगै प्रदेशभर मृतकको संख्या ९३ पुगेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
