काठमाडौँ । दशैँ आजदेखि समापन हुँदैछ। आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज बेलुका महालक्ष्मीको पूजा गरी जाग्राम बसेसँगै दुर्गापक्ष सकिन्छ।
विजयादशमीदेखि सुरु भएको टीका र जमरा लगाएर मान्यजनबाट आशीर्वाद लिने क्रम पनि आजैदेखि सकिनेछ । आजै जमरालाई नजिकको नदी, तलाउ, पोखरीमा सेलाइन्छ।
कोजाग्रत पूर्णिमा आज परे पनि पूर्णिमा व्रत भने भोलि रहेको छ। नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा सकिने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले बताए।
मध्यरातमा पूर्णिमा परेकाले कोजाग्रत पूर्णिमा आजै मनाउने निर्णय गरिएको समितिले जनाएको छ। आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु भएको दशैँमा यसवर्ष कोरोना भाइरस सङ्क्रमणको जोखिम र महामारीका कारण विगतमा जस्तो चहलपहल देखिएन।
दशैँ सकिएसँगै कार्तिक स्नान र आकाशदीपदान भोलिदेखि सुरु हुनेछ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
