काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्षमा उद्यमी तथा महासंघका वर्तमान उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आज उम्मेदवारी दर्ता गरेका छन्।
महासंघको केन्द्रीय कार्यालय टेकुमा ढकालसहित उनको समूहका सबै उपाध्यक्ष पदका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका हुन्।
ढकाल प्यानलबाट वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, जिल्लानगर उपाध्यक्षमा गुणनिधि तिवारी र एशोशियट उपाध्यक्षमा रामचन्द्र संघईले उम्मेदवारी दर्ता गरेका छन्।
महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचन आगामी मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुँदैछ। गत चैत्रमा हुनुपर्ने महासंघको साधारणसभा तथा निर्वाचन कोभिड–१९ का कारण स्थगन भएको थियो।
पछि पटकपटक साधारणसभा तथा निर्वाचनको मिति तोकिए पनि कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेका लकडाउन तथा निषेधाज्ञाका कारण साधारणसभा हुन सकेको थिएन।
गत मंसिरमा गृह जिल्ला बाग्लुङङ्गमा आयोजित बाग्लुङ महोत्सवमा ढकाललाई वरिष्ठ उपाध्यक्षमा स्थानीय उद्योग वाणिज्य महासंघले उम्मेदवार प्रस्ताव गरेको थियो।
गत फागुनमा काठमाडौंमा औपचारिक कार्यक्रममार्फत ढकालले आफ्नो उम्मेदवारी घोषणा गरेका थिए। त्यस्तै गत असारमा ढकालसहित सबै उपाध्यक्षहरुले सामूहिकरुपमा आफ्नो उम्मेदवारी घोषणा गरेका थिए।
उम्मेदवारी दर्तापछि ढकालले कोभिड–१९ र अन्य विभिन्न कारणबाट उत्पन्न व्यवसायिक समस्या समाधान र मुलुकको आर्थिक सम्मृद्धिमा सशक्त निजी क्षेत्रको खाँचो रहेकोले आफूले उम्मेदवारी दिएको बताए । “देश महामारीको चपेटामा छ।
व्यवसाय र व्यवसायीलाई बचाउन, अहिलेको समस्याबाट मुलुकको समग्र अर्थतन्त्रलाई बचाउन र मुलुकको विकास र सम्मृद्धिमा सरकारसँग हातेमालो गर्न तथा निजी क्षेत्रको विकासमा रचनात्मक भूमिका निभाउन हामीले उम्मेदवारी दिएका छौं”, उनले भने।
उनले मुलुकभर भएको व्यवसायिक सञ्जाल, साना देखि ठूला व्यवसायसम्मको अनुभव, व्यवसायी मित्रहरुसँगको सुमधुर सम्बन्ध र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नेटवर्क नै आफ्नो जीतको मुख्य आधार भएको बताए।
त्यस्तै उनले राज्य र व्यवसायीबिचको सम्बन्ध सुधार गर्दै मुलुकमा व्यवसायिक वातावरण बनाउन आफूहरुले भूमिका निर्वाह गर्ने बताए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
