धनुषा । प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले कोरोना महामारीको उपचार प्रदेश २ का सरकारले निःशुल्क रुपमा गर्ने बताएका छन्। मन्त्री साहले जनताको कोरोनाको परीक्षण देखि उपचारमा लाग्ने सम्पूर्ण खर्च प्रदेश सरकारले नै बेहोेर्ने बताए।
मन्त्री साहले अहिले प्रदेशको विभिन्न जिल्लामा आठवटा पिसिआर मेसिन मार्फत कोरोनाको परीक्षण भईरहेको जानकारी दिए।
उनले प्रदेश २ को प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाम, नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्ज, गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराज, रौतहटको गौर अस्पताल र महोत्तरीको बर्दिवास अस्पतालमा निःशुल्क परीक्षण गर्ने काम भईरहेको जानकारी दिए।
यसै गरी कोरोनाको निःशुल्क उपचार जनकपुरधाम, राजविराज, वीरगञ्ज, गौरमा भइरहेको मन्त्री साहले जानकारी दिए।
प्रदेश सरकारले कुनै प्रकारको शुल्क नलिनको लागि प्रयोगशाला तथा कोरोनाको उपचार गर्ने अस्पताललाई निर्देशन पनि दिइसकेको सामाजिक विकास मन्त्री साहले जानकारी दिए।
यसैबीच प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका प्रमुख डा. प्रमोद यादवले हरेक जिल्लाको जिल्ला अस्पतालमा पनि कोरोनाको परीक्षणका लागि प्रयोगशाला स्थापनाका लागि पीसीआर मेसिन खरिदका लागि प्रक्रिया अगाडि बढाएको जानकारी दिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
