काठमाडौँ । मन्त्रीमण्डल पुनर्गठन गरेकै दिन सरकारले १० जना सचिवको जिम्मेवार हेरफेर गरेको छ।
मन्त्रीमण्डल पुनर्गठनसँगै बिहीबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले जिम्मेवारी हेरफेर गरेको हो । नयाँ मन्त्रीले जिम्मेवारी सम्हालेको एक मन्त्रालयमा सचिव हेरफेर गरिएको छ भने अन्य ९ सचिवको सरुवा गरिएको हो ।
सरकारले स्वास्थ्य मन्त्रालयका सचिव यादव प्रसाद कोइराला संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा तानिएका छन्। संघीय मामिला मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमलाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको छ।
त्यस्तै, खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाको सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा गरिएको छ।
प्रधानमन्त्री कार्यालयमा कार्यरत सचिव केदार न्यौपाने उपराष्ट्रपतिको कार्यालयमा सरुवा भएका छन् । उपराष्ट्रपति कार्यालयका सचिव खगराज बराललाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ।
यसैगरी भौतिक पूर्वाधार मन्त्रालयका सचिव देवेन्द्र कार्कीलाई जल तथा ऊर्जा आयोगका सरुवा गरिएको छ भने सो आयोगमा कार्यरत सचिव रमेशप्रसाद सिंहलाई सहरी विकास मन्त्रालयमा तानिएको छ ।
सहरी विकास मन्त्रालयका सचिव मधुसूदन अधिकारीलाई ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा सरुवा गरिएको छ ।
काठमाडौं महानगरपालिकाका सचिव एकनारायण अर्याललाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिव बनाइएको छ भने सिंचाई सचिव रविन्द्रमान श्रेष्ठलाई भौतिक पूर्वाधार मन्त्रालयमा तानिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा तीन नयाँ मन्त्री चयन भएका छन् । अर्थ मन्त्रालयमा विष्णु पौडेल, शहरी विकास मन्त्रालयमा कृष्ण गोपाल श्रेष्ठ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा लीलानाथ श्रेष्ठ नियुक्त भएका छन् ।
बिहीबार राष्ट्रपति भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई सम्बन्धित मन्त्रालयको मन्त्रीमा नियुक्त गरेकी थिइन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
