सानिमा जनरल इन्स्योरेन्सको आईपीओ अर्को साता आउने

काठमाडौँ । सानिमा जनरल इन्स्योरेन्सको साधारण शेयर (आईपीओ) अर्को सातादेखि आउने भएको छ।

बीमा समितिबाट लाइसेन्सप्राप्त ३ निर्जीवन बीमा कम्पनीमध्येकै पछिल्लो आईपीओको रुपमा असोज २१ गतेदेखि २५ गतेसम्म शेयर निष्कासन गर्न लागेको हो।

Advertisement

सानिमाको यो शेयरसँगै निर्जीवन बीमा क्षेत्रको आईपीओ निष्कासन प्रक्रिया पूरा हुनेछ।

सानिमाले प्रस्ताव गरेको १ अर्बको चुक्ता पुँजी पुर्याउन ३० करोड रुपैयाँ बराबरको आईपीओ निष्कासनको तयारी गरेको हो। अहिले सानिमाको शेयर पुँजी ७० करोड रुपैयाँ छ।

३० करोड रुपैयाँको ३० लाख कित्ता शेयरमध्ये १ लाख २० हजार कित्ता कर्मचारीलाई र १ लाख ५० हजार कित्ता शेयर म्युचुअल फण्डका लगानीकर्तालाई छुट्याएर बाँकी हुन आउने २७ लाख ३० हजार कित्ता शेयर सर्वसाधारणलाई वितरण गर्न लागिएको हो।

सो शेयर २ लाख ७३ हजार आवेदकलाई १०/१० कित्ताका दरले वितरण गर्न पर्याप्त हुनेछ ।

सानिमा जनरल इन्स्योरेन्स गैर आवासीय नेपालीहरुको लगानी भएको निर्जीवन बीमा कम्पनी हो। यो बीमा कम्पनीले अघिल्लो वर्ष ३५ करोड रुपैयाँको बीमाशुल्क आर्जन गरेको थियो।

आर्थिक वर्ष २०७५/७६ को लेखापरीक्षण गरिएको विवरण अनुसार कम्पनीको नेटवर्थ १०३/७३ रुपैयाँ रहेको छ। यो नेटवर्थ अनुसार यो कम्पनीको पहिलो कारोबार मूल्य ३ सय ११ रुपैयाँसम्म हुनेछ।

More News last news
Loading...