राजकुमार राना
धादिङ । धादिङको नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर-३ का वडाध्यक्ष विजयकुमार तामाङ्ले राजनीतिक विचार नमिलेककै कारण गाउँपालिका प्रमूखले आफ्नो वडामा बजेट छुट्याउँदा नै भेदभाव गर्ने गरेको आरोप लगाएका छन्।
गत स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसबाट बिजयी वडाध्यक्ष तामाङले गाउँपालिका प्रमूखले विचारकै आधारमा बजेट विनियोजन गर्ने गरेको आरोप लगाएका हुन्। यस गाउँपालिकामा अहिले ठुलो संख्यामा सत्तारुढ दल नेकपाका जनप्रतिधि धेरै छन्।
वडाध्यक्ष तामाङले भने, “राजनीतिक विचार नमिलेकै कारण मलाई असफल बनाउन गाउँपालिका प्रमुख नै लाग्नुभएको छ। तर म त्यसको डटेर सामना गरिरहेको छु । आफ्नो विचार समुहका जनप्रतिधिलाई उहाँले मुखकै भरमा बजेट दिनुभएको छ। तर मैले सबै कागजी प्रक्रिया पूरा गर्दा पनि योजना दिनुहुन्न । अहिलेसम्म उहाँले गाउँपालिकाका सबै वडामा समानुपातिक बजेट बितरण गर्न सक्नुभएको छैन। सिमित बजेटले हाम्रो वडामा चरोलाई चारो हाल्न पनि पुग्दैन ।”
स्थानीयले २५ रोपनी जग्गा दान दिँदा पनि गाउँपालिका भवन बन्न सुस्त
स्थानीय निर्वाचन भएको यतिका वर्षसम्म पनि गाउँपालिकाले आफ्नै भवन बनाउन सकेको छैन।
स्थानीयले गाउँपालिकाको भवन निर्माणका लागि २५ रोपनी जग्गा दान दिएको भएपनि गाउँपालिका प्रमूखले टेन्डर प्रक्रिया अगाडी बढाउन नसक्दा भवन निर्माण प्रक्रिया अलपत्र परेको वडाध्यक्ष तामाङ बताउँछन्।
एक घर एक धारा अभियानमा जोडिए १५७ घर
वडाध्यक्ष तामाङका अनुसार नेत्रावती डबजोङ गाउँकार्यपालिका ३ मा एक घर एक धारा अभियान तिब्र रुपमा आगडि बढेको छ । यसबाट अहिलेसम्म १५७ घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन्।
अन्य क्षेत्रमा यसको निर्माणकारी जारी छ ।
यस्तै, तामाङले आफ्नो वडामा बिजुली जाने (लोडसेटिङ) समस्याको पनि अन्त्य भएको बताएका छन् । यो सँगै वडाका घनाा बस्ती भएको ठाउँमा बिधुतीय एबीसी केबल बिस्तार पनि भइसकेको छ ।
बाह्रै मास सवारी चल्ने सडक निर्माण
धादिङको नेत्रावती डबजोङ गाउँकार्यपालिका-३ का सडक १२ महिना सवारी चल्ने बनाएको छु ।
यहाँ पानी पर्दा हिलो र घाम लाग्दा धुलोले हैरान भएका जनतालाई अहिले केही हद्सम्म राहत मिलेको छ।
सडक बोर्ड नेपाल सँगको सहकार्यमा वडा भित्रका सडकहरुलाई स्तरोन्नती गरिएको वडाध्यक्ष तामाङले बताए।
उनले भने, “अहिले बल्ल बल्ल गाउँपालिकाले वडाको बाटोका लागि १ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। र , प्रदेश सरकारले पनि यसपटक सडकका लागि १ करोड रुपैयाँ पठाएको छ । अब केही समयमै हामी यी मध्ये वडाका मूल सडक स्तरोन्नती गर्दै बजेटले भ्यायसम्म विस्तारै पिच पनि गर्ने तयारीमा छौँ। यसको टेन्डर पनि सकिएको छ । अब हामी कार्यानयनमा जाँदै छौँ।”
वडामा रहेको चौतारा मावि, लगायतका स्कुल भवन निर्माण कार्य सम्पन्न भएको छ।
स्वास्थ्यमा गाउँपालिकाकै उत्कृष्ठ
स्वास्थ्यमा नेत्रावती डबजोङ गाउँकार्यपालिका-३ गाउँपालिका भित्रकै उत्कृष्ठ मध्येको एक हो ।
यहाँ सुविधा सम्पन्न स्वास्थ्य चौकी निर्माण भएको छ।
सुविधा सम्पन्न स्वास्थ्य चौकी, दक्ष स्वास्थ्य कर्मी, शुद्ध पिउँने पानी, समाजउन्मुख संचालक समितिका कारण यो स्वास्थ्य चौकी गाउँपालिकाकै उत्कृष्ठ भएको वडाध्यक्षको दाबी छ।
यस्तै, वडाले कोरोना भाइरसका बिरामीहरुलाई वडामै क्वारेन्टिनको ब्याबस्था गरेको छ।
साथै वडाले क्वारेन्टिनमा बसेका नागरिकलाई गाउँपालिकाको सहकार्यमा निःशुल्क पीसीआर टेष्टको पनि व्यवस्था गरेको छ।
वाइबा राजाको डबजोङ दरबार निर्माण हुँदै
पुरातन कालमा तामाङ समुदायका राजा मानिने वाइबा राजाको डबजोङ दरबार निर्माणको यसै वडामा हुँदै छ। यो दरबार यस वडाको मूख्य पर्यटकीय क्षेत्र हो ।
यो दरबार अहिले पुनःनिर्माण हुँदै छ । यसको डीपीआर तयार भइसेको छ।
यस्तै वडा भित्र रहेका पर्यटकीय स्थलहरु वाकरा, हेरातालका साथै वडाको सबैभन्दा उच्च ठाउँ तान्लोमेनमा पुग्नका लागि बाटो निमाणको कार्य अगाडि बढेको छ ।
जहाँबाट धादिङका अधिकांस क्षेत्र, गोरखाको मनास्लु, लाङटाङ हिमालको समेत दृश्या अवलोकन गर्न सकिन्छ।
बिन्दु केशर मैथान मन्दिर निर्माणका लागि १ करोड ५० लाख बिनियोजन
वडामा रहेको धार्मिक आस्थाको केन्द्र बिन्दु केशर मैथान मन्दिर निर्माणको काम अगाडि बढेको हो। उक्त मन्दिर निर्माणका लागि १ करोड ५० लाख बजेट बिनियोजन भइसकेको छ।
नेत्रावती डबजोङ गाउँकार्यपालिका-३ मा रहेको यो बिन्दू केशर मैथान मन्दिरमा नेपाली मात्रै नभएर भारतीय दर्शनार्थी पनि दर्शनका लागि आउने प्रचलन छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
