अमेरिकामा भएका १,००० चिनियाँ विद्यार्थीको भिसा रद्द

अमेरिका । अनुसन्धानकर्ताहरूले अमेरिकाका लागि खतरा मानेका १,००० भन्दा बढी चिनियाँ विद्यार्थीहरूको भिसा अमेरिकी सरकारले खारेज गरिदिएको छ।

गत मे महिनामा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चिनियाँ सेनासँग सम्बन्ध भएका चिनियाँ नागरिकलाई लक्षित गरी गरेको एउटा घोषणाअनुरूप यो निर्णय आएको बताइएको छ।

Advertisement

उनले केही चिनियाँ नागरिकले अमेरिकामा डेटा र बौद्धिक सम्पत्ति चोरेको दाबी गरेका थिए। अमेरिकी सरकारले यस विषयमा थप जानकारी दिएको छैन। चीनले पनि कुनै टिप्पणी गरिसकेको छैन। सन् २०१८-१९ मा झन्डै ३,७०,००० चिनियाँ विद्यार्थीहरू अमेरिकी विश्वविद्यालयमा भर्ना भएका थिए।

एक अमेरिकी अधिकारीका अनुसार भिसा स्थगित गरिएकामध्ये ‘ठूलो खतरा मानिएका स्नातक गरेका विद्यार्थी र अनुसन्धाताहरू’ छन्। उनीहरू चिनियाँ विद्यार्थीहरूको एउटा ‘सानो उपसमूह’ भएको ती अधिकारीको भनाइ छ।

‘हामी चिनियाँ कम्युनिस्ट पार्टीको सैन्य प्रभुत्वको लक्ष्यलाई समर्थन नगर्ने वैधानिक विद्यार्थी र विद्वान्‌हरूलाई चीनबाट आउन दिइरहनेछौँ,’ अमेरिकी विदेश मन्त्रालयकी एक प्रवक्ताले भनिन्।

गत मे २९ को घोषणामा चीनले अमेरिकाबाट संवेदनशील प्रविधि र बौद्धिक सम्पत्ति हात पार्न एउटा अभियान नै सञ्चालन गरेको आरोप लगाइएको थियो।

त्यसका लागि चिनियाँ विद्यार्थीहरू प्रयोग गरिएको अमेरिकाको दाबी छ। अमेरिकामा अध्ययन गर्न गएका केही चिनियाँ विद्यार्थीहरूले विश्वविद्यालयमा आफूहरूलाई वैमनस्यको भाव र शङ्कापूर्ण दृष्टिले हेर्ने गरिएको बताएका छन्।

More News last news
Loading...