काठमाडौं । प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको १ सय ७ औँ जन्म जयन्ती आज विभिन्न कार्यक्रम गरी देशभर मनाइँदै छ।
नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गरेका कोइरालाको जन्म १९७१ भदौ २४ गते भएको थियो।
जहानियाँ राणा शासनको विरोधमा उनका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले लगाउने लुगा राणा प्रधानमन्त्री चन्द्र शमशेरलाई पठाएपछि कोइराला परिवार भारत निर्वासनमा जानु परेको थियो। भारत निर्वासनकै क्रममा कोइरालाको नेतृत्वमा २००३ मा नेपाली राष्ट्रिय कांग्रेसको स्थापना भएको थियो।
प्रजातन्त्र स्थापना नै मुख्य लक्ष्य लिएर सुवर्ण शमशेरको नेतृत्वमा २००६ सालमा स्थापना भएको नेपाल प्रजातन्त्र कांग्रेसकबीच एकता भएपछि २००७ सालको क्रान्ति सफल भयो।
दुवै दल एकीकृत भई बनेको नेपाली कांग्रेस अहिले पनि संसदमा प्रमुख प्रतिपक्षी दलका रुपमा क्रियाशील छ।
क्रान्तिको सफलतापछि मोहन शमशेरको नेतृत्वमा बनेको राणा-कांग्रेस सरकारमा बीपी गृहमन्त्री बनेका थिए। २०१५ सालको आमनिर्वाचनमा काँग्रेसले दुई तिहाई बहुमत प्राप्त गरेपछि उहाँ प्रथम जननिर्वाचित प्रधानमन्त्री बने।
बीपी कोइरालाको प्रधानमन्त्रीत्व कालमा बिर्ता उन्मूलन गरी भूमिसुधार कार्यक्रम लागू भएको थियो। तर २०१७ पुस १ गते जननिर्वाचित सरकार अपदस्थ गरिएपछि कोइराला लगायतका नेतालाई सिंहदरबारमा बन्दी बनाइएको थियो।
सुन्दरीजल बन्दी गृहमा राखिएका विपीले २०२५ मा स्वास्थ्य परीक्षणका लागि जेल मुक्त भएपछि आठ वर्षसम्म भारतमा निर्वासित जीवन बिताएका थिए।
२०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई उनी स्वदेश फर्किएका उनको क्यान्सर रोगबाट २०३९ साउन ६ गते निधन भएको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
