पेट्रोलियम पदार्थको मूल्य वृद्धि तत्काल फिर्ता गर्न नेविसंघको माग

काठमाडौँ । प्रमूख प्रतिपक्षी दल नेपाली काँग्रेसको भातृ संगठन ‘नेपाल विद्यार्थी संघ’ (नेविसंघ)ले विषम परिस्थितिमा पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता गर्न सरकारसँग माग गरेको छ।

संघले आज एक प्रेस विज्ञप्ति जारी गर्दै, कोरोना भाइरस (कोभिड १९) को विषम परिस्थितिमा पेट्रोलिय पदार्थमा गरिएको मूल्यवृद्धिले पीडामा रहेका जनतालाई झन पीडा दिएको जनाउँदै तत्काल फिर्ता लिन माग गरेको हो।

Advertisement

यस्तो समयमा आयल निगमले गरेको मुल्यवृद्धिले निम्न वर्गीय जनतालाई भोकमारीतर्फ धकेलेको संघको ठहर छ। संघले जनताले महाविपत्ति सामना गरिरहेका वर्तमान समयमा सहुलियत दिने कार्य गर्नुको सट्टा मुनाफातिर लागेको भन्दै घोर आपत्ति जनाएको हो।

सरकारले निषेधाज्ञा गरेर जनताको ढाँड सेक्नेगरी मुल्यवृद्धि गर्योः महामन्त्री भट्टराई

नेविसंघका केन्द्रीय महामन्त्री दीपक भट्टराइले सरकारले निषेधाज्ञा जारी गरेर जनताको ढाँड सेक्नेगरी मुल्यवृद्धि गरेको आरोप लगाएका छन् । भट्टराईले सरकारले कोरोना भाइरस (कोभिड १९) संक्रमणका बेला राहात दिनुको सट्टा उल्टै अत्यावश्यक दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि गरेको आरोप लगाएका हुन् ।

भट्टराईले नयाँ पुस्तासँग भने, “कोरोना संकटमा सरकारले गरेको लापर्बाहीका कारण निम्तिएको संकटले जनता रोग र भोकको चपेटामा छन्। अहिले जनता सरकारसँग राहतको अपेक्षा गरिरहेका छन्, यस्तोमा सरकार निषेधाज्ञा जारी गरि जनतालाई घरमा बन्धक बनाएर ढाँड सेक्नेगरी मुल्यवृद्धि गर्छ, यो आपत्तिजनक छ।”

महामन्त्री भट्टराईले, सरकारलाई मंगलबार गरेको पेट्रोलियम पदार्थको मूल्य वृद्धि तत्काल फिर्ता लिन माग गर्दै जनताको दैनिकी सहज बनाउन आग्रह गरेका छन् ।

More News last news
Loading...