गण्डकी प्रदेशमा नेपाली सेनाका २० सहित थप ३२ जनामा कोरोना पुष्टि

पोखरा । गण्डकी प्रदेशमा नेपाली सेनाका २० सहित थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकीको लमजुङमा नेपाली सेनामा कार्यरत २० जनालाई कोरोना संक्रमण भएको गण्डकी प्रदेश, स्वास्थ्य निर्देशनालय, पोखराले जनाएको छ।

Advertisement

केही दिनअघि त्यहाँको श्रीजंग दलमा कार्यरत बागलुङका २९ वर्षीय जवानलाई संक्रमण पुष्टि भएसँगै भएको ट्रेसिङका क्रममा थप २० जनामा संक्रमण देखिएको हो।

लमजुङमै संक्रमण देखिएका अर्का व्यक्ति त्यहाँको ग्लोवल आइएमई बैंकका सुरक्षा गार्ड भएको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानले बुधबार सार्वजनिक गरेको विज्ञप्तिमा जनाइएको छ।

बेशीशहर वडा नम्बर ८ का अन्य २ जनामा पनि संक्रमण देखिएको छ। यता पोखरामा स्वास्थ्यकर्मीमा संक्रमण देखिने क्रम जारी छ ।

पोखरा महानगरपालिका वडा नम्बर ११ मा रहेको साई अर्चना अस्पतालमा कार्यरत ४६ वर्षीय स्वास्थ्यकर्मीमा पनि संक्रमण देखिएको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डाक्टर विनोदविन्दु शर्माले पुष्टि गरे।

यसअघि यहाँको गण्डकी अस्पताल,कास्की सेवा अस्पताल, मनाङ र बागलुङका स्वास्थ्यकर्मीमा पनि संक्रमण देखिएको थियो।

कास्कीको मादी गाउँपालिकाका अर्का ३९ वर्षीय पुरुष भने दुबईबाट आएका हुन्। नवलपरासीको गैंडाकोटकी ४० वर्षीया महिला, ३० र २४ वर्षीय पुरुषमा पनि संक्रमण देखिएको छ।

नवलपुरकै कावासोतीमा २ पुरुष र एक महिलामा संक्रमण देखिएको छ। बुधबार बिहान मात्रै गण्डकी प्रदेशमा ३२ जना संक्रमित थपिएका छन्।

सबै परीक्षण प्रदेश क्षयरोग केन्द्रमा रहेको प्रयोगशालामा भएको थियो। योसँगै गण्डकीमा संक्रमितको संख्या १ हजार ९ सय ४५ र निको हुनेहरुको संख्या १६४३ पुगेको छ।

More News last news
Loading...