काठमाडौँ । हङ्गकङका वैज्ञानिकले कोरोनाभाइरसद्वारा पुनः संक्रमित भएका व्यक्ति फेला पारेका छन्।
३० वर्ष माथिका यी व्यक्ति पहिलो पटक साढे चार महिना अघि कोरोनाभाइरसद्वारा संक्रमित भएका थिए।
वैज्ञानिकका अनुुसार यो भाइरसको जिनोममा दुई कुरा नितान्त फरक थिए र यो पुनः संक्रमण देखिएको संसारको पहिलो मामिला हो ।
यद्यपि, विश्व स्वास्थ्य संगठनले एक बिरामीको आधारमा सिधा निष्कर्ष निकाल्न नमिल्ने बताएको छ।
यस्तै, विशेषज्ञले पुनः संक्रमित हुनु अत्यधिक दुर्लभ भएको र यो पहिलेको भन्दा गम्भीर नहुन पनि सक्ने बताएका छन्।
हङ्गकङ विश्वविद्यालयको यो रिपोर्टमा संक्रमण ठिक हुनुअघि यी व्यक्ति १४ दिनसम्म अस्पतालमा बसेको तर एयरपोर्टमा स्क्रिनिङको क्रममा उनी पुनः संक्रमित पाइएको जानकारी दिएको छ । यद्यपि, उनलाई कुनै लक्षण देखिएको भने थिएन ।
लण्डन स्कूल अफ हाइजिन तथा ट्रपिकल साइन्सका प्राध्यापक ब्रेन्डन रेनका अनुसार यो पुनः संक्रमणको निकै दुर्लभ मामिला हो।
उनका अनुसार यसका कारण कोभिड–१९ को भ्याक्सिन अत्यन्तै आवश्यक हुने गर्छ र भाइरस समयसँगै आफूलाई परिवर्तन गर्ने पनि आशंका छ ।
जो मानिस भाइरसबाट संक्रमित हुन्छन् उनीहरुको शरीरमा भाइरसबाट लड्नका लागि इम्युन सिस्टम विकसित हुने गर्छ जसले भाइरसलाई पुनः फर्कनबाट रोक्छ।
सबैभन्दा बलियो प्रतिरोधी क्षमता ती मानिसहरुमा पाइन्छ जो गम्भीर रुपमा कोभिड–१९ द्वारा संक्रमित भएका छन्। यद्यपि, यो सुरक्षा कति लामो हो र प्रतिरोधी क्षमता कहिलेसम्म रहन सक्छ भनेर अहिलेसम्म स्पष्ट जानकारी छैन।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
