विदेशमा अलपत्र नेपालीलाई तत्काल उद्धार गर्न छायामन्त्री संग्रौलाको माग

काठमाडौँ । नेपाली काँग्रेसकी सांसद डिला संग्रौलाले विदेशमा अलपत्र नेपाली नागरिकलाई तत्काल निःशुल्क उद्धार गर्न माग गरेकी छन् ।
काँग्रेसकी श्रम रोजगार छायामन्त्री समेत रहेकी नेतृ संग्रौलाले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै, कोरोना भाइरस (कोभिड १९) महामारीका कारण विदेशमा अलपत्र नेपाली नागरिकलाई तत्काल निःशुल्क उद्धार गर्न माग गरेकी हुन् ।

संग्रौलाले विज्ञप्जिमा भनेकी छन्, “कोरोना महामारीका कारण काम गुमाएर लामो समयदेखि खानाका लागि पनि अरुको राहतको आशामा बसेका श्रमिकहरुको पहिचान गरि तत्काल निःशुल्क उद्धार गरियोस्। विदेशमा अलपत्र परेर फर्किने श्रमिकहरुलाई ७ दिन अनिवार्य होटेल बुकिङ गरेर राख्नै पर्ने निर्णय फिर्ता लिनुपर्छ । होटेलमा पैसा तिर्न नसक्ने श्रमिकहरुलाई निःशुल्क क्वारेन्टिनको व्यवस्था गर्नुपर्छ।”

Advertisement

‘श्रम कल्याणकारी कोषबाट उद्धार गरिनुपर्छ’

नेतृ संग्रौलाले रोजगारीका लागि विदेशमा पुगेर बाध्यकारी अवस्थामा फर्किन लागेका श्रमिकहरुलाई श्रम कल्याणकारी कोषको रकम खर्च गरेर उद्धार गर्नुपर्ने बताएकी छन्।

‘श्रम स्वीकृति लिएर गएका तर करार अवधि नपुगी कम्पनीले फर्किन बाध्य पारेका र कम्पनीले टिकट नदिएका श्रमिकहरुलाई सर्वोच्चको आदेश अनुसार श्रम कल्याणकारी कोषबाट उद्धार गरिनुपर्छर्,’ नेतृ संग्रौलाले भनेकी छन्।

संग्रौलाले विदेशको विकासका लागि अनुभव बटुलेका श्रमिकहरुको सीपलाई प्रयोग गरी देश विकासमा उनीहरुको सहभागितासहितको रोजगारी र स्वरोजगार व्यापार र व्यवसाय गर्नेहरुलाई सरकारले कम ब्याजदरमा सुलभ ऋण र अनुदानको व्यवस्था गर्नुपर्ने पनि माग गरेकी छन्।

संग्रौलाले उनले कोरोना भाइरसको महामारी अगावै विदेशमा ज्यान गुमाएका ७० भन्दा बढी नेपालीका शव अलपत्र अवस्थामा रहेको भन्दै यथाशीघ्र स्वदेश ल्याएर परिवारको जिम्मा लगाउन पनि माग गरेकी छन्।

यस्तो छ नेतृ संग्रौलाको प्रेस वक्तव्य

कोरोनाको कहरले गर्दा देशभित्रै जनजीवन अस्तव्यस्त बन्न पुगेको छ भने विप्रेषणद्वारा नेपालको अर्थतन्त्र निरहेका तर अहिले रोजगारी गुमाएका दशौँ हजार नेपालीहरु स्वदेश फर्कन कहिले पाइएला भनेर पर्खिरहेका छन् । महँगो चार्टर्ड उडान गरेर सरकारले झन्डै ५० हजार नेपालीहरुलाई स्वदेश फर्काएको छ तर अझै पनि खाडी मुलुकहरु तथा मलेसियामा झन्डै ५ लाख नेपालीहरु देश फर्कन पर्खिरहेका छन् ।

तीमध्ये हजारौँ महिला, बेरोजगार तथा असक्त नेपालीहरु विमानको कट किन्न सक्ने स्थितिमा पनि छैनन् । यस्तो अवस्थामा ती नेपालीहरुलाई प्राथमिकताका आधारमा देश फिर्ता गर्नुपर्नेमा सरकारले चार्टर्ड विमानको महँगो टिकट काटेर घर फर्कन पर्खि रहेका नेपालीहरुलाई युएईमा छाडेर रित्तै विमान नेपाल फर्काउने जस्तो गैरजिम्मेवार काम गरेको छ । त्यस्तो कामका लागि जिम्मेवार अधिकारीहरुलाई तत्काल बर्खास्त गर्न म माग गर्दछु ।

नेपाल फिर्न चाहने प्रवासी नेपालीहरुलाई स्वदेश फिर्ता ल्याउने काममा सम्बन्धित मुलुकमा रहेका नेपाली दूतावासहरु, गैरआवासीय नेपाली संघका च्याप्टरहरु, अन्य सामाजिक संस्थाहरु र मध्यपूर्वमा रहेको श्रमिक सञ्जालसँग सहकार्य गर्न आग्रह गर्दै मैले सम्माननीय प्रधानमन्त्री तथा माननीय श्रम मन्त्रीको पटक पटक ध्यानाकर्षण गराएकी छु ।

त्यस्तै प्रतिनिधिसभामा हामीहरुले सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका थियौँ भने पटक पटक यो विषयलाई जोडदार रुपमा उठाउँदै आएका थियौँ । तर सत्तारुढ दलको आन्तरिक झगडाका बीच संसद् बैठक हठात अन्त्य गर्ने सरकारको अत्यन्त गैरजिम्मेवार कदमको म निन्दा गर्दछु ।

कोरोनाको महामारीबाट गुज्रिरहेको अवस्थामा महिलामाथि अनेकौँ समस्याहरु थुप्रेका छन् । एकातर्फ हिंसाको सिकार महिला हुन पुगेका छन् भने अर्कोतर्फ रोजगारी नहुँदा घरको चुलोमा आगो बल्न नसक्ने अवस्था आएको छ । त्यसैले आर्थिक आयआर्जन र सुरक्षाको प्रभावकारिताका साथै महिला सशक्तीकरणका लागि विशेष कार्यक्रमहरु ल्याउन आवश्यक छ।विदेशमा रहेका श्रमिकहरुलाई स्वदेश फिर्ता ल्याउने लगायतका काम तत्काल सम्पन्न गर्न नेपाल सरकारसँग निम्नअनुसार आग्रह गर्दछु ।

१) कोरोना महामारीका कारण काम गुमाएर लामो समयदेखि खानाका लागि पनि अरुको राहतको आशामा बसेका श्रमिकहरुको पहिचान गरि तत्काल निशुल्क उद्धार गरियोस् ।

२) श्रम स्वीकृति लिएर गएका तर आफ्नो करार अवधि नपुगी कम्पनीले फर्किन वाध्य पारेका र कम्पनीले टिकट नदिएका श्रमिकहरुलाई सर्वोच्चको आदेश अनुसार श्रम कल्याणकारी कोषबाट उद्धार गरियोस् ।

३) विदेशमा समस्यामा परि फर्किनै पर्ने अवस्थाका हजारौं श्रमिक दाजुभाइ(दिदिबहिनिहरुलाई सिघ्र स्वदेश फर्काउन सके निःशुल्क, नसके कम शुल्कको उडानको ब्यवस्था गर्दै श्रमिकहरुले नै तिर्ने गरी ७ दिनको लागि होटल बुकिङ गर्नैपर्ने सरकारको नयाँ निर्णय फिर्ता लिएर होटलमा पैसा तिर्न नसक्ने श्रमिकहरुलाई निःशुल्क क्वारेन्टिनको ब्यवस्था गरियोस् ।

४) विदेशको विकासका लागि अनुभव बटुलेका श्रमिकहरुको सीपलाई प्रयोग गरी देश विकासमा उनीहरुको सहभागितासहितको रोजगारी र स्वरोजगार ब्यापार र ब्यवसाय गर्नेहरुलाई सरकारले कम ब्याजदरमा सुलभ ऋण र अनुदानको ब्यवस्था गरियोस् ।

५) अहिले कोरोना संकटभन्दा पहिले नै दुखद निधन भएका सत्तरीभन्दा बढी नेपालीहरुका शव विदेशमा अलपत्र छन् । उनीहरुका परिवार, आफन्त “कि सास देउ, कि लास देउ” भनेर पर्खि रहेका छन् । उनीहरुको शव यथाशिघ्र नेपाल ल्याएर सम्बन्धित परिवारलाई जिम्मा लगाइयोस् ।

डा. डिला संग्रौला
(सदस्य, प्रतिनिधि सभा, केन्द्रीय सदस्य नेपाली कांग्रेस)
२०७७ भदौ ८, काठमाडौँ

More News last news
Loading...